अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीले छानबिन अघि बढाएमा अर्बपति एलन मस्कलाई जोगाउने बताएका छन्। आवश्यक परेमा उनले मस्कलाई अग्रिम माफी दिन सक्ने संकेत समेत गरेका छन्।
ट्रम्पले न्युयोर्क पोस्टको ‘पड फोर्स वान’ पोडकास्टमा पत्रकार मिरान्डा डिभाइनसँगको कुराकानीमा यस्तो धारणा राखेका हुन्। उक्त अन्तर्वार्ता नोभेम्बर २ मा सार्वजनिक भएको थियो, जुन मध्यावधि निर्वाचनको अघिल्लो दिन हो।
डिभाइनले डेमोक्र्याटहरूले प्रतिनिधि सभा जितेमा मस्कमाथि छानबिन, पक्राउ वा सम्पत्ति जफत हुन सक्ने चर्चा रहेको प्रश्न उठाएकी थिइन्। त्यसको जवाफमा ट्रम्पले ती कुरा अहिले चर्चा मात्र भएको बताए, तर यस्तो भएमा आफूहरूले उनीहरूलाई जोगाउनुपर्ने धारणा राखे।
मस्कमाथि सरकारी दक्षता विभाग (डोज) को नेतृत्व गर्दाको काम, संघीय सरकारसँगका ठेक्का र युक्रेनमा स्टारलिंकको विषयमा छानबिन हुन सक्ने बताइएको छ। ट्रम्पले मस्कसँगै आफ्ना अन्य सहयोगीलाई पनि आरोप नलाग्दै माफी दिन सकिने बताए। उनले पूर्वराष्ट्रपति जो बाइडेनले पनि यस्तै माफी दिएको र आफूले जनवरी ६ का अभियुक्तलाई माफी दिएको स्मरण गराए।
न्युयोर्क टाइम्सका अनुसार मस्कले सन् २०२४ को निर्वाचनमा ट्रम्पलाई सहयोग गर्न झन्डै २९ करोड डलर खर्च गरेका थिए भने सन् २०२६ को मध्यावधिमा रिपब्लिकनलाई ४७ करोड ४० लाख डलरभन्दा बढी दिएका छन्।
