बागलुङ । गण्डकी प्रदेश सरकारले बागलुङ जिल्लामा एकै पटक १५ वटा बेलिब्रिज निर्माण गर्ने तयारी गरेको छ । पक्की पुल नहुँदा वर्षायाममा सवारी आवागमन ठप्प हुने ग्रामीण सडकका साना तथा मझौला खोलामा यी पुल बन्न लागेका हुन् ।
चालु आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय बागलुङमार्फत निर्माण प्रक्रिया अघि बढाइएको छ । प्रत्येक पुलका लागि ४० लाख रुपैयाँका दरले बजेट विनियोजन भइसकेको प्रदेशका आर्थिक मामिलामन्त्री जीत शेरचनले जानकारी दिए । अहिले पुलहरूको विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । सर्वेक्षण, डिजाइन र लागत अनुमान पूरा भएपछि ठेक्का प्रक्रिया सुरु हुनेछ ।
“चालु आर्थिक वर्षमा सबै पुलको काम एकसाथ सुरु गर्ने तयारी छ । लागतअनुसार क्रमशः दुईदेखि तीन वर्षभित्र सबै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ,” मन्त्री शेरचनले भने । प्रदेश सरकारले ४० मिटरसम्म लम्बाइ र अधिकतम चार करोड रुपैयाँ लागतका पुल निर्माण गर्ने नीति लिएको र साना खोलामा बेलिब्रिज छिटो र सहज हुने उनको भनाइ छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख अनुप थापाका अनुसार पुल बनेपछि जिल्लाका अधिकांश ग्रामीण सडक प्रदेशस्तरीय सडक हुँदै राष्ट्रिय राजमार्गसँग जोडिनेछन् । अहिले निर्माणस्थलको सर्वेक्षण भइरहेको छ ।
योजनाअन्तर्गत निसीखोला गाउँपालिकामा पाँच वटा पुल बन्नेछन् भने ढोरपाटन, जैमिनी, काठेखोला, गलकोट, तमानखोला र बडिगाडका विभिन्न खोलाघाटमा बाँकी पुल निर्माण हुनेछन् ।
पुल निर्माण भएपछि खोलामा पानीको बहाव बढ्दा सडक अवरुद्ध हुने समस्या कम हुने र ग्रामीण क्षेत्रका बासिन्दाले वर्षैभरि यातायात सेवा उपयोग गर्न पाउने कार्यालयले जनाएको छ ।
