कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता हुने भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङअन्तर्गतको इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले आगामी मङ्सिर ५ देखि ७ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो।
क्लबले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो। क्लबकी अध्यक्ष जेलिना भट्टका अनुसार सूचना प्रविधि, नवप्रवर्तन र प्राविधिक विकाससँग जोडिएका गतिविधि बढाउन ह्याकाथन आयोजना गर्न लागिएको हो।
प्रतियोगितामा स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, साइबर सुरक्षा, फिनटेक र कृत्रिम बुद्धिमत्तालगायत आठ वटा विधामा विद्यार्थीले आ–आफ्ना समाधान प्रस्तुत गर्नेछन्। देशैभरबाट करिब ७० टोली सहभागी हुने अनुमान गरिएको छ। प्रत्येक टोलीमा तीनदेखि चार जना सदस्य रहनेछन्।
क्लबका सल्लाहकार दिलिप पन्तका अनुसार प्रतियोगितामा उत्कृष्ट हुने टोलीलाई एक लाख १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। सुदूरपश्चिम विश्वविद्यालयसँगै देशका विभिन्न क्षेत्रका विद्यार्थीले प्रतियोगितामा भाग लिने जनाइएको छ।
आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीलाई आफ्नो सिर्जनात्मक क्षमता, प्राविधिक ज्ञान र नवीन सोचलाई व्यवहारमा उतार्ने अवसर दिनेछ।
