तनहुँको शुक्लागण्डकी नगरपालिका–२ सुन्दरी गाउँमा एउटा घरभित्र अजिङ्गर फेला परेको छ । सोमबार साँझ स्थानीय नेत्रबहादुर रानाको कच्ची घरको धुरीमा अजिङ्गर देखिएपछि प्रहरी र वन कार्यालयको टोलीले त्यसको उद्धार गरेको हो ।
घरको धुरीमा अजिङ्गर रहेको खबर इलाका प्रहरी कार्यालय बेलचौतारामा पुगेको थियो । खबर पाएलगत्तै कोत्रे प्रहरी पोस्टबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यस्तै, डिभिजन वन कार्यालय तनहुँबाट सशस्त्र वनरक्षकसहितको टोली पनि उद्धारका लागि खटिएको थियो ।
प्रहरी र वन कार्यालयको संयुक्त टोलीले घरको धुरीमा रहेको अजिङ्गरलाई सुरक्षित रूपमा उद्धार गरेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उद्धार गरिएको अजिङ्गर करिब दुई दशमलव पाँच मिटर लामो र १८ किलोग्राम तौलको रहेको प्रहरीले जनाएको छ ।
उद्धारपछि अजिङ्गरलाई आवश्यक व्यवस्थापनका लागि डिभिजन वन कार्यालय तनहुँ पठाइएको छ । घरभित्रै अजिङ्गर देखिएपछि स्थानीयवासीमा केहीबेर त्रास फैलिएको थियो ।
