बागलुङमा यस आर्थिक वर्ष सञ्चालन भएको एचपिभी खोप अभियान सफल भएको छ । जिल्लाका १० वटै स्थानीय तहमा लक्ष्य राखिएका दुई हजार १९६ किशोरीमध्ये दुई हजार १८२ जनाले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप पाएका छन् । यो लक्ष्यको ९९ दशमलव ३६ प्रतिशत हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार दुई चरणमा सञ्चालन भएको अभियानले आफ्नो लक्ष्य पूरा गरेको हो । विद्यालयमा कक्षा ६ मा पढ्ने किशोरी र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीलाई खोप दिइएको थियो । विभिन्न कारणले विद्यालयबाहिर रहेका किशोरीलाई पनि खोपको पहुँचमा ल्याइएको छ ।
स्वास्थ्यकर्मी विद्यालय र घरघरमा पुगेर खोप लगाएकाले अभियान सफल भएको खत्रीले बताए । अभियान सुरु हुनुअघि प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखलाई अभिमुखीकरण दिएको थियो । पालिका र वडास्तरका स्वास्थ्यकर्मीलाई पनि खोपबारे जानकारी दिइएको थियो । यस वर्ष अभियान सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई नै दिइएको थियो र प्रत्येक पालिकाले आफ्नै समय तालिका बनाएर खोप लगाएका थिए ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा १० देखि १४ वर्ष उमेर समूहका ११ हजार १७७ किशोरीलाई एचपिभी खोप दिइएको थियो । गत वर्ष कक्षा ६ बाहेक १० वर्ष उमेर समूहका तीन हजार ३०२ किशोरीले पनि खोप पाएका थिए ।
