तेहरान । इरानले अमेरिकाले आफ्ना वैध माग पूरा गरेमा स्ट्रेट अफ होर्मुज दुई दिनभित्र पुनः खोल्न सकिने बताएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यो धारणा सार्वजनिक गरेका हुन्।
बाघाईका अनुसार मध्यस्थकर्तामार्फत हुने कुनै पनि अप्रत्यक्ष वार्ताको आधार इरानले गत सेप्टेम्बरमा अघि सारेको सात दिने योजना हुनेछ। इरानले सद्भावनाको सङ्केतका रूपमा उक्त योजनाको कार्यान्वयन अवधि घटाएर दुई दिनमा झारेको उनले बताए। उनले भने, इरानका माग पूरा भएमा होर्मुजमा सुरक्षा पुनः कायम गर्न र छोटो समयमै वार्ता प्रक्रिया सुरु गर्न सम्भव हुनेछ। यसबारे अन्तिम निर्णय अमेरिकी पक्षको हातमा रहेको उनले स्पष्ट पारे।
बाघाईले इरानका माग स्पष्ट, उचित र तार्किक रूपमा प्रस्तुत गरिएको बताए। अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुका साथै तेहरानका वैध माग सम्बोधन नगरेसम्म कुनै सम्झौता नहुने उनको भनाइ छ। त्यसो नभएसम्म होर्मुज पुनः खोल्न र त्यहाँ सुरक्षा सुनिश्चित गर्न सम्भव नहुने उनले बताए।
इरानले युद्ध अन्त्य गर्ने र होर्मुज पुनः खोल्ने सर्त समेटिएको सात दिने योजना गत सेप्टेम्बर २२ मा न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष प्रस्तुत गरेको थियो। त्यसयता तेहरान र वासिङ्टनबिच उक्त प्रस्तावबारे सन्देश आदानप्रदान भइरहेको बताइएको छ।
यसै वर्ष फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए। त्यसको जवाफमा इरानले इजरायल तथा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो। साथै, उसले स्ट्रेट अफ होर्मुजमाथि आफ्नो नियन्त्रण थप कडा बनाएको थियो।
