काठमाडौँ । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले प्यालेस्टिनी जनताको मातृभूमिमाथिको अधिकार पूरा नभएसम्म मध्यपूर्व क्षेत्रमा सुरक्षा र स्थिरता सम्भव नहुने बताएका छन् । जोर्डनको संसद्को उद्घाटनका क्रममा सोमबार उनले यस्तो धारणा राखेका हुन् ।
प्यालेस्टिनी जनताको आफ्नो मातृभूमिमाथिको अधिकार कायम नभएसम्म क्षेत्रमा सुरक्षा वा स्थिरता सम्भव नहुने कुरा आफूहरूले बारम्बार दोहोर्याउँदै आएको उनले बताए । जोर्डन इजरायल र कब्जा गरिएको वेस्ट बैङ्कको छिमेकी मुलुक हो ।
जोर्डनले लामो समयदेखि दुई–राज्य समाधानको वकालत गर्दै आएको छ । सन् १९९४ मा जोर्डनले इजरायलसँग शान्ति सम्झौता गरेको थियो । इजरायललाई युद्धविराम उल्लङ्घन रोक्न अन्तर्राष्ट्रिय आह्वान भए पनि गाजामा मानवीय विपत्ति जारी रहेको उनले बताए । वेस्ट बैङ्क र जेरुसेलममा निरन्तर आक्रमण जारी रहेको र इजरायलका विस्तारवादी महत्त्वाकाङ्क्षा क्षेत्रको भविष्य र आशाका लागि सबैभन्दा ठुलो खतरा बनेको उनको भनाइ थियो ।
जोर्डनी नरेशको यो भाषण इजरायलमा संसदीय चुनाव भएको केही दिनपछि आएको हो । उक्त चुनावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पार्टीले सबैभन्दा बढी मत पाएको थियो तर बहुमत भने पुगेको छैन । यसैबीच क्षेत्रमा द्वन्द्व फेरि सुरु हुने खतरा पनि बढेको छ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमण दोहोर्याएमा इरानले जवाफ दिने चेतावनी दिएको छ ।
