हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले राज्यको समृद्धिका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशले सोमबार हेटौँडामा आयोजना गरेको मुख्यमन्त्री तथा मन्त्रीको सम्मान एवं छलफल कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।
बागमती प्रदेश देशकै सबैभन्दा बढी उद्योग र उद्योगी व्यवसायी भएको प्रदेश भएको उनले बताए । उद्योग क्षेत्रले भोग्दै आएका समस्या समाधान गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
कार्यक्रममा उद्योगी व्यवसायीले बैङ्कको उच्च ब्याजदर, दक्ष कामदारको अभाव, मजदुर हडताल तथा उद्योग सञ्चालन भइरहेका बेला स्थानीयस्तरबाट हुने अवरोधजस्ता समस्या भोग्नुपरेको गुनासो गरेका थिए । यी समस्याका बाबजुद पनि स्वदेशमै लगानी गरेर नेपालीलाई रोजगारी दिने काममा उद्योगी व्यवसायी लागिरहनु प्रशंसायोग्य भएको मुख्यमन्त्री थापामगरले बताए ।
उद्योग तथा कलकारखानाबाट प्राप्त हुने कर नै सरकार सञ्चालनको महत्त्वपूर्ण आधार भएको उनले उल्लेख गरे । करको दर बढाउनुभन्दा करको दायरा विस्तार गर्न प्रदेश सरकार केन्द्रित रहेको उनले स्पष्ट पारे ।
