जाडो सुरु हुनुअघि ग्यास भण्डारणको कानुनी लक्ष्य पूरा नभए पनि जर्मनीले आगामी चिसो महिनाका लागि ग्यासको आपूर्ति सुरक्षित रहेको जनाएको छ। अर्थ मन्त्रालयले सोमबार जारी गरेको वक्तव्यमा हालको भण्डारण स्तरले जाडोभर देशको आवश्यकता धान्न सक्ने उल्लेख छ।
युरोपेली ऊर्जा अनुगमन संस्था एजीएसआईका अनुसार जर्मनीका भण्डारण केन्द्रहरू अहिले औसतमा ६१ प्रतिशत मात्र भरिएका छन्। नोभेम्बर १ सम्म ७० प्रतिशत भर्ने कानुनी बाध्यता थियो। युरोपेली सङ्घको औसत भण्डारण करिब ७५ प्रतिशत रहेको छ, जसको तुलनामा जर्मनी पछाडि देखिएको हो। मध्यपूर्वको तनाव र अमेरिका–इरान युद्धपछि युरोपमा ग्यासको मूल्य वर्षौँयताकै उच्च विन्दुमा पुगेको छ, जसले भण्डारण भर्ने लागत पनि तीव्र रूपमा बढाएको छ।
मन्त्रालयका प्रवक्ताले सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि उत्पन्न ऊर्जा सङ्कटयता जर्मनीले आपूर्तिका स्रोतहरू उल्लेख्य रूपमा फराकिलो बनाएको बताए। विशेष गरी तरलीकृत प्राकृतिक ग्यासको आयात बढेपछि चिन्ता घटेको उनको भनाइ छ। नयाँ एलएनजी टर्मिनल निर्माणसँगै आयात क्षमता पनि विस्तार भएको छ। जर्मनीले अधिकांश एलएनजी अमेरिकाबाट ल्याउँछ भने केही हिस्सा मध्यपूर्वबाट आउँछ। त्यसैले ७० प्रतिशतको लक्ष्यलाई समग्र आपूर्ति अवस्थासँगै हेर्नुपर्ने प्रवक्ताको तर्क छ।
तर भण्डारण उद्योगको संस्था आईएनईएसले भने लक्ष्य नपुग्नुलाई गम्भीर सङ्केत भनेको छ। जाडोको तयारी सुनिश्चित गर्ने संयन्त्र अझ बलियो बनाउनुपर्ने र लक्ष्य पूरा गर्न कडा कानुन आवश्यक रहेको उसले जनाएको छ। सेप्टेम्बरमा मन्त्रालयले भूराजनीतिक जोखिम औँल्याउँदै सरकारी ऊर्जा कम्पनीलाई भण्डार बढाउन निर्देशन दिएको थियो।
