सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा रहेको जुगल–२ हिमालमा पहिलोपटक मानव पाइला पुगेको छ। छ हजार पाँच सय १८ मिटर उचाइको यो हिमालको शिखरमा स्पेनका तीन पर्वतारोही पुग्न सफल भएका हुन्।
आरोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेज सम्मिलित टोलीले शिखरमा पुगेर सुरक्षित रूपमा आधार शिविर फर्किएको जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङले जानकारी दिए।
यो सफलताले जुगल हिमशृङ्खलाका अन्य चुचुराहरूमा आरोहणको सम्भावना थप खुलेको तामाङको भनाइ छ। उनका अनुसार यस उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर चिनाउन सहयोग पुग्नेछ।
गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले कठिन मानिएको यो आरोहण पूरा गर्ने स्पेनी टोलीलाई बधाई दिएका छन्। उनले यो कीर्तिमानले जुगल हिमशृङ्खलाको पहिचान अन्तरराष्ट्रियस्तरमा अझ बलियो बन्ने विश्वास व्यक्त गरे।
जुगल गाउँपालिकाले हिमाल आरोहण, पदमार्गको प्रवर्द्धन र पर्यटन पूर्वाधारलाई प्राथमिकतामा राख्दै ‘जुगल भ्रमण वर्ष २०८३’ सञ्चालन गरिरहेको छ। ‘गन्तव्य जुगल’ अभियानमार्फत यहाँका हिमाल, पदमार्ग र धार्मिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखिएको छ।
यसअघि २०७५ चैत २६ मा माया गुरुङको नेतृत्वमा ग्याल्चेन पिक (छ हजार एक सय २६ मिटर) र २०७७ कात्तिक ४ मा शर्मिला लामाको नेतृत्वमा सात सदस्यीय टोलीले जुगल–३ (छ हजार एक सय ८४ मिटर) को आरोहण गरेका थिए। विदेशी आरोहीले २०८१ वैशाखमा जुगल–१ को पहिलो आरोहण गरेका थिए।
