लगातारको वर्षा, बाढी र पहिरोले देशभरका मुख्य राजमार्गहरू ठप्प भएका छन्। नेपाल प्रहरीले शनिबार साँझ साढे ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै उपत्यकासहित विभिन्न प्रदेशका महत्वपूर्ण सडक खण्ड पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएको जनाएको छ।
ललितपुरको बागमती गाउँपालिका–३ का पाँदुर र टार्कुचेमा पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ। ललितपुर महानगरपालिका–२ को बल्खु सुन्दरीघाटस्थित बागमती करिडोर पनि अविरल वर्षाका कारण चल्न नसक्ने अवस्थामा छ। काभ्रेको रोशी गाउँपालिका–९ पिनथली र वडा नम्बर ८ गिम्दीबेसीमा पहिरो जाँदा बिपी राजमार्ग समेत पूर्ण रूपमा रोकिएको छ।
मकवानपुरमा बाढी र पहिरोको उच्च जोखिम देखिएपछि कान्ति लोकपथको हेटौंडा–ठिङ्गन–ललितपुर सडक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको छ। कुलेखानी जलाशयको जलसतह बढ्ने खतरा देखिएपछि भैसे–भीमफेदी–देउराली–कुलेखानी खण्डमा पनि रातिको समयमा सवारी रोक लगाइएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। गोरखाको आरुघाट गाउँपालिका–२ र ३ मा सोतिदेखि मान्बु जाने पुल बाढीले बगाएपछि त्यो बाटो पनि बन्द छ। मुस्ताङमा जोमसोम–कोरोला सडक भने एकतर्फी मात्र सञ्चालनमा छ।
यसैगरी धादिङको कृष्णभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग, पाल्पाको रामपुरमा पहिरो जाँदा कालिगण्डकी करिडोर र सुर्खेतको बराहतालमा पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी रूपमा मात्र खुलेका छन्। सम्बन्धित निकायले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र निस्कन सबैलाई आग्रह गरेको छ।
