काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा काठमाडौं गोर्खाजबाट खेल्न आएका अस्ट्रेलियाका चर्चित ब्याटर डेभिड वार्नर सोमबार मैदानमा उत्रिने भएका छन्। कात्तिक १६ गते सोमबार हुने दिनको पहिलो खेलमा गोर्खाजले कर्णाली याक्सको सामना गर्नेछ, र त्यही खेलबाट वार्नरले यस संस्करणको आफ्नो यात्रा सुरु गर्नेछन्।
गोर्खाजले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत वार्नरको खेल्ने मिति सार्वजनिक गर्दै समर्थकलाई मैदानमा उपस्थित हुन आह्वान गरेको छ। क्लबले लामो प्रतीक्षा सकिन लागेको जनाउँदै समर्थकलाई दिउँसो १२ः३० बजे नै मैदानमा पुग्न अनुरोध गरेको छ।
वार्नरको आगमनले यस संस्करणको एनपीएलमा छुट्टै उत्साह थपेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बोकेका वार्नर गोर्खाजको ब्याटिङको मुख्य आधार बन्ने अपेक्षा गरिएको छ। उनको उपस्थितिले टोलीको आत्मविश्वास बढाउनुका साथै समर्थकको उत्साह पनि चुलिएको छ।
सोमबारको खेलमा वार्नरले कस्तो प्रदर्शन गर्छन् भन्ने कुरामा सबैको ध्यान केन्द्रित हुनेछ।
