राजविराजमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले सप्तरीलाई सहिदहरूको भूमि भनेकी छन्। सप्तरी क्षेत्र नम्बर २ को प्रदेश तथा नगर कार्यसमितिले दसैँ, तिहार र छठ पर्वको अवसरमा आइतबार राजविराजमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी संग्रौलाले यस्तो धारणा राखेकी हुन्।
कार्यक्रममा बोल्दै उनले नेपालमा भएका हरेक परिवर्तनका आन्दोलनमा सप्तरीका अग्रजहरूको भूमिका महत्त्वपूर्ण रहेको बताइन्। मुलुकको राजनीतिक परिवर्तनको यात्रामा यो जिल्लाका अग्रज पुस्ताले खेलेको भूमिकालाई उनले स्मरण गरिन्।
महामन्त्री संग्रौलाले नेपाली कांग्रेस जनताको चाहनाअनुसार अघि बढ्ने बताएकी छन्। पार्टीभित्र युवा, महिला र हरेक वर्गको प्रतिनिधित्व रहेकाले कांग्रेस बदलिएको उनको भनाइ थियो। जनताको चाहनालाई नै पार्टीको प्राथमिकता बताउँदै उनले महिला, युवा र पछाडि परेका समुदायलाई हरेक तहमा प्रतिनिधित्व गराउन पार्टी प्रतिबद्ध रहेको उल्लेख गरिन्।
दसैँ, तिहार र छठजस्ता पर्वको अवसरमा आयोजित उक्त कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
