काठमाडौँ । भोटेकोशी बाढीबाट विस्थापित भएर दुई महिनादेखि काठमाडौँमा आश्रय लिइरहेका पीडितहरू तिहारपछि आफ्नो थातथलो फर्कने तयारीमा छन् । सरकारले पुनर्स्थापनाको ठोस योजना नल्याएपछि उनीहरूले गाउँ फर्कने निर्णय गरेका हुन् ।
रसुवाको टिमुरेकी लाङराङ तामाङ दुई महिनादेखि काठमाडौँको होल्डिङ सेन्टरमा एक्लै बसिरहेकी छन् । उनका श्रीमान् अलगै छन्, छोरी बिहे गरेर गइसकेकी छन् । टिमुरेमा उनको जग्गा र घर बाढीपहिरोले बगायो । ‘सरकारले पनि हेरेको छैन । संस्थाले हेरेको छ, खुवाएको छ,’ उनले सुनाइन् ।
गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेका कामी नुर्बु तामाङका अनुसार सरकारले स्थायी व्यवस्थापनबारे कुनै जानकारी दिएको छैन । ‘हामी सधैँ यहीँ बसेर हुँदैन । हामी थातथलो फर्कन तयार छौँ,’ उनले भने, ‘जन्मभूमिमा गएर हिजोको परम्परा, रीतिरिवाज जोगाउन छ ।’ टिमुरेमाथिको डाँडामा बस्ती बनाउने योजना रहेको उनले बताए । पुनर्वासका लागि खाद्यान्न र अस्थायी टहराको व्यवस्था गरिदिन उनले सरकारसँग आग्रह गरे ।
कामी नुर्बुका अनुसार बाढीबाट टिमुरेका २० देखि २५ प्रतिशत स्थानीयमात्र जीवित छन् । अभिभावकविहीन बालबालिकाको भविष्य चिन्ताको विषय बनेको उनले बताए । सरकारले पीडितको समस्या सम्बोधन नगरेमा सडकमा आउन बाध्य हुने उनले चेतावनी दिए ।
अर्की पीडित पासाङ तामाङले बासस्थान नै प्रमुख समस्या भएको बताइन् । गाउँ फर्कन बाटो बनाउनुपर्ने र त्यसबीच सबैलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाइदिए राम्रो हुने उनको भनाइ छ ।
भदौ १० गते बाढी आएपछि टिमुरेबासी डाँडा चढेर दिनभर उद्धारको प्रतीक्षामा बसे । भोलिपल्ट हेलिकप्टरले ८–९ जनाका समूहमा उनीहरूलाई धुन्चे पुर्यायो, त्यहाँबाट स्थलमार्ग हुँदै काठमाडौँ ल्याइयो । सुरुमा १० दिन यल्लो गुम्बामा बसेका उनीहरू अहिले स्वयम्भुस्थित मुस्ताङ गुम्बामा छन् ।
सरकारले बाढीपीडितलाई अस्थायी बसोबासका लागि मासिक १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । तर पीडितहरू उक्त रकम काठमाडौँमा बस्न अपर्याप्त भएको बताउँछन् । काठमाडौँमा परिवार बस्न फ्ल्याट खोज्दा २० देखि २५ हजार रुपैयाँ लाग्ने पीडित पेम्बा जाङ्मु घलेले सुनाइन् । ‘१५ हजारले घरभाडा तिर्ने कि रासनको तिर्ने कि पढेको तिर्ने ?’ उनले प्रश्न गरिन् ।
मुस्ताङ गुम्बामा २०७ जना पुरुष र २०४ जना महिलासहित ४११ जना आश्रित छन् । तीमध्ये १७१ जना बालबालिका र ८० जना वृद्धवृद्धा छन् ।
