भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा आदेश नमानेपछि तीन वटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरेको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका, पर्साको जिराभवानी गाउँपालिका र काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको खाता रोक्का गरिएको छ।
मन्त्रालयका अनुसार ती पालिकामा कार्यरत कर्मचारीलाई अन्यत्र सरुवा गरिएको थियो। तर सरुवा भएका कर्मचारी नयाँ कार्यालयमा हाजिर नगरी पुरानै पालिकामा काम गरिरहेका थिए। त्यसैगरी नयाँ रूपमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई पनि पालिकाले हाजिर गराएको थिएन।
सरुवा आदेशको अवज्ञा भएको निष्कर्षसहित मन्त्रालयले तीनै पालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक जिम्मेवारी खोसेको हो। मन्त्रालयले नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन पालिकाहरूलाई निर्देशन दिएको छ।
साथै आर्थिक अधिकार रद्द गरिएको जानकारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई दिँदै खाता सञ्चालनको आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको छ।
