काठमाडौं — अनलाइन सञ्चारमाध्यम डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार उनलाई नियन्त्रणमा लिएको हो। पक्राउपछि उनलाई सोही कार्यालयमा राखिएको छ।
डीएनए खबरले आफ्नो पेज र युट्युब च्यानलमार्फत बिचौलिया इनम सापकोटा र न्यायाधीश हरि फुयाँलबीच भएको संवादसम्बन्धी विवरण सार्वजनिक गरेको थियो। सोही माध्यमले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले पदबाट हटाउन खोजेको विषयमा पनि सामग्री प्रकाशित गरेको थियो।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध देखिएका सापकोटाको मोबाइल फोनमा भेटिएको सम्पर्क विवरण बाहिर ल्याउने सञ्चारकर्मीमाथि प्रहरीले धरपकड गरिरहेको छ। यसअघि नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराल पक्राउ परिसकेका छन्।
यसैबीच दियो पोस्टका प्रधानसम्पादक सुदिप विश्वकर्मा र नयाँ पत्रिकाका नवराज मैनालीलाई प्रहरीले खोजिरहेको छ। लगातारका पक्राउ र खोजीका घटनाले सञ्चार क्षेत्रमा चिन्ता बढाएको छ।
