यस साता अर्थतन्त्रसँग जोडिएका केही उल्लेखनीय खबर सार्वजनिक भएका छन्। मधेस प्रदेशमा सहुलियतपूर्ण कृषि कर्जा प्रवाह झन्डै नौ अर्ब रुपैयाँ पुगेको छ भने तिहारमा काठमाडौँ उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको छ। सेयर बजार भने सामान्य अंकले ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५ दशमलव ४५ अंकले घटेर दुई हजार ६९० दशमलव १५ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अंकले घटेर ४८७ दशमलव ६६ मा झरेको छ। सो दिन दुई करोड २८ लाख ६२ हजार ५५४ कित्ता सेयर आठ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो।
वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले असोज महिनाका लागि २६ अर्ब ४६ करोड रुपैयाँको लक्ष्य राखेको थियो। इन्धन आयातबाट मात्र दुई अर्ब २९ करोड, खाना पकाउने एलपिजी ग्यासबाट एक अर्ब ८० करोड र अलकत्रा आयातबाट एक अर्ब ४० करोड रुपैयाँ राजस्व उठेको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिए।
तिहारमा सयपत्री फूलका ४५ लाख, मखमलीका छ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ। संघका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटक स्वदेशी उत्पादनकै फूल र मालाले माग धान्ने दाबी गरे। दाङमा तिहारका लागि तयार पारिएका फूलबाट करिब २५ लाख रुपैयाँको कारोबार हुने अनुमान छ।
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप छ हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल अघि बढाएका छन्। नेपाल पर्वतारोहण संघमार्फत विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ को साधारणसभामा उक्त प्रस्ताव अघि सारिएको हो।
