काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सरकारको काम गर्ने तरिका, सुशासन, मानव अधिकार, प्रहरी प्रशासनको प्रयोग र न्यायालयको निष्पक्षताका विषयमा गम्भीर प्रश्न उठाएको छ ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद बलावती शर्माले पत्रकारदेखि न्यायाधीशसम्म त्रसित हुने अवस्था बनेको बताइन् । उनले सरकार कहाँबाट सञ्चालित भइरहेको छ भन्ने प्रश्न समेत गरिन् ।
सुशासन र पारदर्शिताको जगमा बनेको भनिएको सरकारले छदेखि आठ महिनामै रहस्यमय ढङ्गले राज्य चलाउन थालेको उनको आरोप छ । पत्रकार, निजी क्षेत्र, व्यवसायी, कर्मचारी, प्रहरी र न्यायालयसम्म त्रासको वातावरणमा छन्, जसलाई उनले राज्य आतङ्कको संज्ञा दिइन् ।
प्रहरीले समाचार च्यानलभित्र पसेर हस्तक्षेप गर्ने र प्रहरी नेतृत्व परिवर्तन तथा प्रशासनमाथिको दबाबबारे पनि उनले प्रश्न उठाइन् । कर्मचारीलाई जुनसुकै बेला हटाउन वा नियुक्त गर्न सकिने अवस्था र ५३ र ५५ सम्बन्धी व्यवस्था उठाउँदै उनले कर्मचारीतन्त्रमा असुरक्षा रहेको बताइन् ।
सिँचाइ तथा सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुखलाई प्रहरी लगाएर पक्राउ गरी दुईदुई दिन थुनिएको घटनामा पनि उनले प्रश्न उठाइन् । गल्ती गरेको भए पनि कानुनी प्रक्रियाभित्र रहेर कारबाही हुनुपर्ने उनको भनाइ थियो ।
तीस वर्षीय युवा इनाम सापकोटा प्रकरणमा थुनामा रहेको व्यक्तिको बयान वा अडियो कसरी सार्वजनिक भयो र यसको जवाफदेहिता कसले लिने भन्ने उनको प्रश्न थियो । प्रधानमन्त्रीका सल्लाहकारको घरमा सापकोटाको मोबाइल भेटिएको र सन्देश मेटिएको भन्ने विवरणको वास्तविकता के हो भनेर पनि उनले सोधिन् ।
सर्वोच्च अदालत र न्यायाधीशमाथि उठेका प्रश्नको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै उनले दोषी देखिए कारबाही हुनुपर्ने तर छानबिनका नाममा कसैलाई विस्थापित गर्ने काम हुन नहुने बताइन् । न्यायाधीशमाथि महाभियोग र प्रतिनिधिसभाबाट हुनसक्ने छानबिनमा निष्पक्ष प्रक्रिया अपनाउनुपर्ने उनको भनाइ छ ।
