नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्कासनको स्वीकृतिका लागि पर्खिरहेका कम्पनीलाई उनीहरूको प्रक्रियागत अवस्थाका आधारमा ६ समूहमा बाँडेको छ। बोर्डमा पुगेर स्वीकृति पाउन बाँकी रहेका ११७ कम्पनी यसरी वर्गीकरण गरिएका हुन्। ती कम्पनीले कुल ७१ अर्ब ४२ करोड २० लाख २३ हजार ४९६ रुपैयाँ बराबरको ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर जारी गर्न लागेका छन्।
पर्खाइमा रहेका कम्पनी उत्पादन तथा प्रशोधन, जलविद्युत्, होटल तथा पर्यटन, लगानी, लघु बीमा र अन्य क्षेत्रका छन्। तीमध्ये ५ कम्पनीले प्रिमियम मूल्य थप गरेर सेयर जारी गर्न अनुमति मागेका छन्। छ चरणमा आवेदन दर्तादेखि अन्तिम समीक्षासम्मका अवस्था समेटिएका छन्।
अन्तिम समीक्षामा २ कम्पनी छन्। आशुतोष इनर्जीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता र कान्तिपुर फर्मास्युटिकल्स ल्याबले १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता सेयर जारी गर्न लागेका हुन्। जवाफ समीक्षामा रहेका १० कम्पनीले ५ अर्ब १९ करोड ४ लाख रुपैयाँ बराबरको ५ करोड १९ लाख कित्ता सेयर जारी गर्न लागेका छन्।
जवाफ प्राप्त भएका १९ कम्पनीले १९ अर्ब ९० करोड ९१ लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेका छन्। यसमा डिश मिडिया नेटवर्क, जगदम्बा स्टिल्स, शौर्य सिमेन्ट, हस्पिटल फर एड्भान्स्ड मेडिसिन र निलगिरी खोला हाइड्रोपावरलगायत छन्। टिप्पणी पठाइएका ४ कम्पनीले ४ अर्ब रुपैयाँ बराबरको ४ करोड कित्ता, प्रारम्भिक समीक्षामा रहेका ६ कम्पनीले १ अर्ब ५४ करोड १५ लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेका छन्। सबैभन्दा धेरै ७६ कम्पनी आवेदन दर्ताको चरणमा छन् र उनीहरूले ४० अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबरको २८ करोड ८ लाख कित्ता सेयरका लागि आवेदन दिएका छन्।
