मुगु — गमगढी–नाक्चेलाग्ना सडकखण्डमा पर्ने माग्रीभिरको करिब ३०० मिटर लामो कडा चट्टान काटिएको छ । मुगुम कार्मारोङ गाउँपालिकामा रहेको उक्त चट्टान नेपाली सेनाको सहयोगमा छिचोलिएपछि वर्षौंदेखि सडकको पर्खाइमा रहेका स्थानीय बासिन्दामा आशा पलाएको छ ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार चट्टानका कारण सडक निर्माणमा लामो समयदेखि अवरोध हुँदै आएको थियो । चट्टान छिचोलिएसँगै अब माथिल्लो भेगमा सडक खन्न सहज हुने कार्यालयले जनाएको छ । दुर्गम कार्मारोङ गाउँपालिकालाई सडक सञ्जालमा जोड्ने प्रयासमा यसलाई ठूलो उपलब्धिका रूपमा हेरिएको छ ।
कार्यालयका प्रमुख श्रवणकुमार महताराले नेपाली सेनाको सहयोगमा चट्टान काट्ने काम पूरा भएको बताए । उनका अनुसार चालु आर्थिक वर्षभित्रै पुलुसम्म सडक पुर्याउने लक्ष्य राखिएको छ र सडक निर्माणका लागि १५ करोड रुपैयाँको ठेक्का सम्झौता भइसकेको छ ।
गमगढी–नाक्चेलाग्ना सडक मुगुको उत्तरी भेगका बासिन्दाको आवतजावत सहज बनाउन, स्थानीय उत्पादन बजारसम्म पुर्याउन र सीमावर्ती क्षेत्रसँगको सम्पर्क विस्तार गर्न महत्त्वपूर्ण मानिन्छ । चट्टान छिचोलिएसँगै निर्माणले गति लिने र मुगुवासीको चीनसँग व्यापार गर्ने चाहना पूरा हुने अपेक्षा गरिएको छ ।
नेपाल सरकारले विसं २०६२ देखि औपचारिक रूपमा निर्माण सुरु गरेको यो सडकमा २१ वर्षमा जम्मा १८ किलोमिटर मात्र ट्याक खुलेको छ । सदरमुकाम गमगढीदेखि चीनसँगको सीमा नाक्चेलाग्नासम्मको दूरी ९६ किलोमिटर छ । चीनसँग जोडिएका नेपालका १४ परम्परागत नाकामध्ये जिल्ला सदरमुकामबाट सीमासम्मको दूरीका हिसाबले यो नाका सबैभन्दा छोटो मानिन्छ ।
