नेपाल प्रिमियर लिगमा चितवन राइनोजविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्स कठिन मोडमा पुगेको छ। एक सय ३० रनको लक्ष्य पछ्याउने क्रममा टोलीका दुई प्रमुख ब्याटर लगातार दुई बलमा पेभेलियन फर्किएपछि खेलको रङ्ग नै फेरिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आक्रामक शैलीमा खेलिरहेका ब्रान्डन म्याकमलेन अर्धशतक नजिक पुगेर आउट भए। उनले जम्मा २१ बल खेलेर छ चौका र दुई छक्कासहित ४३ रन जोडे। पावरप्लेमा उनले इशान पाण्डेसँग मिलेर इनिङ्सलाई राम्रो गति दिएका थिए।
म्याकमलेन पेभेलियन फर्किएलगत्तै क्रिजमा आएका कप्तान दीपेन्द्रसिंह ऐरी पहिलो बलमै खाता नखोली आउट भए। चितवनका बलर रन्जित कुमारले लगातार दुई बलमा दुई महत्त्वपूर्ण विकेट लिएर सुदूरपश्चिममाथि दोहोरो दबाब सिर्जना गरे।
कप्तान दीपेन्द्रको पछिल्लो ब्याटिङ लय चिन्ताजनक देखिएको छ। विराटनगरविरुद्धको अघिल्लो खेलमा पनि उनले पाँच बलमा जम्मा एक रन मात्र बनाउन सकेका थिए।
एकपछि अर्को विकेट गुमेपछि सामान्य लक्ष्य पछ्याइरहेको सुदूरपश्चिमलाई अब बाँकी ब्याटरहरूले धैर्यतापूर्वक खेल्नुपर्ने अवस्था बनेको छ।
