बनेपा–५ की ५३ वर्षीया प्रमिला जोशी झन्डै २५ वर्षदेखि पिसाब चुहिने समस्याबाट पीडित थिइन्। भान्सामा काम गर्दा होस् वा आफन्तसँग भेटघाट गर्दा, उनलाई सधैँ पिसाब चुहिने हो कि भन्ने चिन्ताले सताइरहन्थ्यो। महिनावारी नभएको समयमा पनि यही डरका कारण प्याड लगाउनुपर्ने अवस्था थियो।
सामाजिक भेटघाटमा अरूले पिसाबको गन्ध थाहा पाउलान् वा नराम्रो नजरले हेर्लान् भन्ने डरले उनको आत्मविश्वास घट्दै गएको थियो। समस्या समाधानका लागि उनले विभिन्न अस्पताल धाइन् र औषधि पनि प्रयोग गरिन्, तर अपेक्षित राहत पाउन सकिनन्।
पछि एक आफन्तमार्फत धुलिखेल अस्पतालमा गरिने मिनिस्लिङ शल्यक्रियाबारे जानकारी पाएपछि उनी अस्पताल पुगिन्। त्यहाँ प्रसूति तथा स्त्रीरोग विभागकी प्राध्यापक डा. आभा श्रेष्ठसँग परामर्शपछि उनको शल्यक्रिया गरियो। उपचारपछि अब कोही नजिक आउँदा पिसाबको गन्ध आउँछ कि भन्ने डर नरहेको र मन हलुका भएको उनले बताइन्।
पनौतीकी ५० वर्षीया सम्झना केसीले पनि यस्तै समस्याका कारण धुलिखेल अस्पतालमा शल्यक्रिया गराएकी थिइन्। शल्यक्रियाको करिब दुई महिनापछि उनको पिसाब चुहिने समस्या बन्द भएको छ।
डा. श्रेष्ठका अनुसार हाँस्दा, खोक्दा, हाच्छ्युँ गर्दा वा गह्रौँ सामान उठाउँदा अनायासै पिसाब चुहिने अवस्थालाई चिकित्सकीय भाषामा स्ट्रेस युरिनरी इन्कन्टिनेन्स भनिन्छ। गर्भावस्था, प्रसव, बढ्दो उमेर, मोटोपन र रजोनिवृत्तिपछिका परिवर्तनले पेल्भिक फ्लोरका मांसपेशी कमजोर हुँदा यस्तो समस्या देखिन सक्छ।
धुलिखेल अस्पतालमा सन् २०१७ देखि मिनिस्लिङ शल्यक्रिया सुरु भएको हो र त्यसयता ५११ जना महिलाको उपचार भइसकेको छ। यो शल्यक्रिया करिब १५ मिनेटमा सम्पन्न हुने गरेको छ। प्रयोगशाला परीक्षण र अस्पताल बसाइको खर्चबाहेक उपचारको कुल खर्च सामान्यतया २५ हजारदेखि ३५ हजार रुपैयाँसम्म पर्ने अस्पतालले जनाएको छ।
डा. श्रेष्ठका अनुसार सबैलाई शल्यक्रिया आवश्यक पर्दैन। पेल्भिक फ्लोरका मांसपेशी बलियो बनाउने केगल व्यायाम, तौल व्यवस्थापन र जीवनशैली परिवर्तन पनि उपचारका विकल्प हुन्। समस्या लामो समयदेखि छ वा दैनिक जीवनमा असर पारिरहेको छ भने स्वास्थ्यकर्मीसँग परामर्श लिएर कारण पहिचान गर्नु आवश्यक हुन्छ।
