काठमाडौँमा दुई दिने राष्ट्रिय र्यापिड बुद्धिचाल प्रतियोगिता सुरु भएको छ। काठमाडौँ स्पोट्र्स एकेडेमी र काठमाडौँ महानगरपालिका–१६ को आयोजनामा भइरहेको प्रतियोगितामा देशभरका १२३ खेलाडी सहभागी छन्।
मंगलबार सम्पन्न पाँच चरणको खेलपछि रुपेश जैसवाल र आशिस फुँयाल पाँच–पाँच अङ्कसहित शीर्ष स्थानमा छन्। पाँचौँ चरणमा जैसवालले धादिङका शुभासकुमार गुरुङलाई हराए भने फुयाँलले ललितपुरका सरोज महर्जनलाई पराजित गरे। पुरुषोत्तम सिलवाल, अभिक शाह र बद्रिलाल नेपाली ४ दशमलव ५ अङ्कसहित दोस्रो स्थानमा छन्।
प्रतियोगिताका विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। महिलातर्फ उत्कृष्ट दश खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको उद्घाटन काठमाडौँ महानगरपालिका–१६ की अध्यक्ष रोजिना श्रेष्ठ र एकेडेमीका अध्यक्ष नारायणदास गमालले गरेका थिए।
नेपाल बुद्धिचाल महासङ्घका प्रवक्ता राजु ताम्राकारले यस्ता प्रतियोगिताले नेपाली बुद्धिचाललाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउन सहयोग गर्ने बताए। प्रतियोगिता महासङ्घका पूर्वउपाध्यक्ष गमालको संयोजनमा सञ्चालन भइरहेको छ।
