अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी-२०आई अलराउन्डर वरियतामा नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी एक स्थान तल झरेका छन्। मंगलबारसम्मको खेललाई आधार मानेर बुधबार अद्यावधिक गरिएको वरियतामा उनी पाँचौं स्थानबाट छैटौंमा पुगेका हुन्। उनको रेटिङ अंक भने २५५ मै यथावत् छ।
दीपेन्द्र तल झर्नुको कारण अफगानिस्तानका अजमतुल्लाह ओमरजाइको उक्लाइ हो। ओमरजाइले भर्खरै जिम्बाबेसँग खेलेको टी-२०आई शृङ्खलामा गरेको प्रदर्शनका आधारमा तीन स्थान माथि उक्लँदै तेस्रो स्थान हात पारेका छन्। त्यसैको असर दीपेन्द्रको स्थानमा परेको हो।
नेपाली पुरुष टोलीले गत अक्टोबरमा एसियन गेम्स खेलेपछि पछिल्लो समय कुनै टी-२०आई खेल खेलेको छैन। नयाँ खेल नखेलेकाले दीपेन्द्रको रेटिङमा कुनै परिवर्तन आएको छैन।
अलराउन्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन्। उनको रेटिङ अंक ३३१ पुगेको छ। दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब कायम छन् भने चौथोमा रस्टन चेज र पाँचौंमा विल ज्याक्स छन्।
