काठमाडौं । अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टेस्ट बलिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले शीर्ष स्थानमा रहेका मार्को यान्सेनलाई पछि पारेका हुन् ।
केप टाउनमा भएको तेस्रो टेस्टमा अस्ट्रेलिया १७६ रनले पराजित हुँदै शृंखला २–१ ले गुमाएको थियो । तर स्टार्कले पहिलो इनिङ्समा ७२ रन खर्चेर ६ विकेट र दोस्रो इनिङ्समा ६५ रन खर्चेर तीन विकेट लिएका थिए । समग्रमा नौ विकेट लिएपछि उनी वरीयताको पहिलो स्थानमा उक्लिएका हुन् । यान्सेन गत साता पहिलोपटक शीर्ष स्थानमा पुगेका थिए ।
तेस्रो टेस्टमा १० विकेट लिएका दक्षिण अफ्रिकाका साइमन हार्मर नौ स्थान सुधार गर्दै सातौं स्थानमा पुगेका छन् । उनको रेटिङ ८१७ पुगेको छ, जुन दक्षिण अफ्रिकाका स्पिनरमध्ये दोस्रो उच्च रेटिङ हो । यसअघि ह्यु टेफिल्डले सन् १९५७ को फेब्रुअरीमा ८९५ रेटिङ बनाएका थिए ।
हार्मर टेस्ट अलराउन्डर वरीयतामा पनि तीन स्थान माथि उक्लँदै पाँचौं स्थानमा पुगेका छन् । यस सूचीमा यान्सेन पहिलो, भारतका रविन्द्र जडेजा दोस्रो, वियान मुल्डर तेस्रो र बंगलादेशका मेहदी हसन चौथो स्थानमा छन् ।
बंगलादेश र वेस्ट इन्डिजबीच ढाकामा भएको पहिलो टेस्टको प्रदर्शनले पनि वरीयतामा प्रभाव पारेको छ । वेस्ट इन्डिजका जोमेल वारिकन नौ विकेट लिँदै प्लेयर अफ द म्याच बनेपछि छ स्थान सुधार गर्दै ३०औं स्थानमा पुगेका छन् । टेस्ट ब्याटिङ वरीयतामा दक्षिण अफ्रिकाका वियान मुल्डर सात स्थान सुधार गर्दै करियरकै उच्च १७औं स्थानमा पुगेका छन् ।
