नुवाकोट । निर्माणाधीन मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीले महिनौंदेखि तलब र भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरूले भुक्तानी पाउन बाँकी रकम एक करोड ९७ लाख ७५ हजार सात सय ८२ रुपैयाँ ४५ पैसा पुगेको बताएका छन् ।
पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरेको १५ दशमलव ६२५ मेगावाट क्षमताको आयोजनामा कार्यरत २० कर्मचारीले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को आंशिक अवधिदेखि २०८३ सालसम्मको तलब तथा भत्ता बाँकी रहेको जनाएका छन् । दसैं भत्ता र अन्य खर्चसमेत उक्त रकममा समावेश छ ।
कर्मचारीका अनुसार कम्पनीले गत २ असोज २०८३ मा पत्र जारी गर्दै सोही मितिदेखि लागू हुने गरी सबै कर्मचारीको रोजगारी सम्झौता अन्त्य गरेको जानकारी दिएको थियो । तर, कसैलाई पनि व्यक्तिगत रूपमा रोजगारी अन्त्य भएको आधिकारिक पत्र नदिइएको उनीहरूको गुनासो छ ।
आधिकारिक पत्र नपाएसम्म सेवा निरन्तर रहने दाबी गर्दै कर्मचारीले श्रम ऐन २०७४ को दफा १४८ (३) बमोजिम बक्यौता रकम र नियमानुसारको ब्याज भुक्तानी गर्न माग गरेका छन् । उनीहरूले नुवाकोट जिल्ला प्रशासन कार्यालय, विदुर नगरपालिका र सम्बन्धित वडा कार्यालयमा पहल गरिदिन अनुरोध गरेका छन् ।
कर्मचारीले गत १० भदौमा भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले आयोजना प्रभावित भएको र सामाजिक परिचालक दीपकबहादुर गुरुङ बेपत्ता भएको पनि बताएका छन् । बाढीपछि खोजी र सहयोगमा कम्पनीका पदाधिकारीले चासो नदेखाएको उनीहरूको आरोप छ ।
यता, कम्पनीका आयोजना निर्देशक दिनेश दहालले खर्चको आधिकारिक विवरण र कर्मचारी नियुक्तिसम्बन्धी कागजात पाए तलब तथा भत्ता तत्काल भुक्तानी गर्ने बताएका छन् । विवरण नआएकाले हिसाब मिलान गर्न समस्या भएको उनको भनाइ छ ।
