कीर्तिपुर — नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको फराकिलो जित निकालेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दिनको दोस्रो खेलमा गोर्खाजले सानदार प्रदर्शन गर्यो।
टस हारेर ब्याटिङ गरेको विराटनगर १७ ओभर ३ बलमा ८३ रनमै अलआउट भएको थियो। विराटनगरका लागि रुपेश सिंहले २७ बलमा २६, एन्जोलो म्याथ्युजले ३१ बलमा २२ र बसिर अहमदले १४ बलमा १० रन बनाए। गोर्खाजका कप्तान करण केसी र सन्तोष यादवले समान ३ विकेट लिए भने सहान अराचिगले २ तथा जहानदाद खान, शहाब आलम र देव साहले समान १ विकेट लिए।
८४ रनको सामान्य लक्ष्य पछ्याएको काठमाण्डुले ९ ओभर ४ बलमा १ विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्यो। डेभिड वार्नरले २४ बलमा ३ छक्का र २ चौकासहित अविजित ४४ रन बनाए भने विलियम बोसिस्टोले २४ बलमा ३ चौकासहित २३ रन जोडे। विराटनगरका अप्राजित पौडेलले १ विकेट लिए।
यो जितसँगै काठमाण्डु ३ खेलमा ४ अंकसहित एक स्थानमाथि उक्लिँदै छैटौं स्थानमा पुगेको छ भने पराजित विराटनगर ५ खेलमा ४ अंकसहित दोस्रो स्थानमा यथावत् छ। यसअघि बिहीबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराएको थियो।
