भारतका विदेश सचिव विक्रम मिस्री स्वदेश फर्केका छन्। उनी परराष्ट्र सचिव अमृतबहादुर राइको निमन्त्रणामा दुई दिने नेपालको औपचारिक भ्रमण सम्पन्न गरी फर्केका हुन्।
भ्रमणका क्रममा मिस्रीले फर्किनुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि भेटेका छन्। राजनीतिक दलका नेताहरूसँग भेट्ने कार्यक्रम थिएन, तर अन्तिममा जाँदा जाँदै सभापति लामिछानेसँग भेटेर उनी फर्केका हुन्। सो भेटमा सभापति लामिछानेले आफ्नो विगतको भारतको औपचारिक भ्रमण र भारतले गरेका स्वागतको विषयमा चर्चा गरेका थिए। उनले आगामी दिनमा दुई देशका बीचमा हुन लागेका उच्चस्तरीय भ्रमणहरूको सफलताका लागि शुभकामना दिएका थिए। निकट भविष्यमा हुन लागेको प्रधानमन्त्री बालेनको भारत भ्रमणको सफलताको शुभकामना उनले दिएका थिए। उनले दुई देशबीच विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको धारणा राखेका थिए।
मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गरेका छन्। भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना सन्देश हस्तान्तरण गरेका थिए। उनले नेपाल-भारतबीचको बहुआयामिक सम्बन्ध तथा सहयोगका विभिन्न क्षेत्रमा भएका प्रगतिबारे जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसैगरी उक्त भेटमा प्रधानमन्त्रीको आगामी भारत भ्रमणको सन्दर्भमा हुनसक्ने सम्भावित उपलब्धि र नयाँ विषयवस्तुबारे पनि छलफल भएको थियो।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि भारतबाट सहयोग माग्ने छलफल भएको बताइएको छ। पुनःस्थापना तथा पुनर्निर्माणका लागि ५० करोड अमेरिकी डलर माग्ने छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। प्रधानमन्त्री बालेनको भारत भ्रमणको मुख्य एजेन्डा नै भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माण हुनेछ। भारतले पनि त्यसमा सहयोग गर्ने वचन दिइसकेको छ, तर कति सहयोग गर्ने र कसरी गर्ने भन्ने कुरा तय भएको छैन। देशभित्रका विभिन्न विद्युत् प्रसारण लाइन निर्माण तथा अन्य पूर्वाधार आयोजना कार्यान्वयनका लागि पनि भारतबाट सहयोग लिने छलफल भएको छ। त्यसको विशेष प्रस्ताव नेपालले तयार गरिरहेको छ।
भारतको सुनौली नाकालाई पोखरासँग जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि अनुदान सहयोग भारतले दिने विषयमा पनि कुराकानी भएको स्रोतले दाबी गरेको छ। अयोध्यादेखि जनकपुरसम्म रेल सञ्चालनको औपचारिक घोषणा गर्ने तयारी पनि भइरहेको छ। त्यसको परीक्षण गर्ने काम जनकपुरमा भएको छ। भारतीय सहयोगमा पनौतीमा निर्माण सम्पन्न भएको प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान, भैरहवास्थित एकीकृत जाँच चौकी, दार्चुला तथा महाकाली नदीमा बनेका पुल संयुक्त रूपमा उद्घाटन गर्ने तयारी पनि भइरहेको छ।
दोधारा चाँदनी एकीकृत जाँच चौकीको निर्माण, लोअर अरुण जलविद्युत् परियोजना र सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइनको निर्माणको विषयमा पनि छलफल भएको बताइएको छ। कात्तिक ४ गते आएकै दिन उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
सो भेटहरूमा मन्त्रीहरूले रसुवा-भोटेकोशी बाढीपछि भारतले पुर्याएको मानवीय र प्राविधिक सहयोगप्रति आभार प्रकट गरेका थिए। दुवै पक्षले व्यापार तथा वाणिज्य, विकास साझेदारी, जलविद्युत्, भौतिक पूर्वाधार, सीमा व्यवस्थापन, ऊर्जा र जनस्तरको सम्बन्धका साथै स्टार्टअप, डिजिटल कनेक्टिभिटी, एआई र खेलकुदजस्ता नयाँ क्षेत्रहरूमा भइरहेको प्रगतिबारे छलफल गरेका थिए।
भ्रमणका क्रममा मिस्रीले नेपाल-भारत संसदीय मैत्री समूह तथा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरूलगायत सांसदहरूसँग पनि अन्तरक्रिया गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशले बहुआयामिक द्विपक्षीय साझेदारीलाई अझ उचाइमा पुर्याउने प्रतिबद्धता दोहोर्याएका छन्। मिस्रीले नेपालसँगको विकास निर्माणमा भारतले सदैव सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएर फर्केका हुन्। भारतमा हुने प्रधानमन्त्री बालेनको भ्रमणको क्रममा भारतले केही महत्त्वपूर्ण घोषणा गर्ने पनि मिस्रीले संकेत गरेका छन्। त्यसबारे दुवै देशका अधिकारीले गृहकार्य गरिरहेको बताइएको छ।
