चितवनको भरतपुर महानगरपालिकाले सहरका प्रमुख चोकहरूमा जडान गरिएका ट्राफिक लाइट प्रयोग गर्ने तरिकाबारे सर्वसाधारणलाई सचेत गराउन अभियान थालेको छ। चौबिसकोठीमा जडान गरिएको लाइटको परीक्षण सञ्चालन गर्दै बिहीबार सचेतना कार्यक्रम आयोजना गरिएको हो।
महानगरका अनुसार प्रमुख चोकहरूमा राखिएका लाइटहरू अझै पूर्ण रूपमा सञ्चालनमा आइसकेका छैनन्। प्रभावकारी रूपमा सञ्चालन सुरु हुनुअघि नै यात्रु र सवारी चालकले यसको सही प्रयोग बुझून् भन्ने उद्देश्यले अभियान अघि बढाइएको हो। दर्शन मिडियासँगको समन्वयमा सञ्चालन भइरहेको कार्यक्रममा ट्राफिक शिक्षा लिएका विद्यार्थीहरू पनि सक्रिय छन्।
महानगरको वातावरण शाखाका इन्जिनियर विराट घिमिरेले सवारी दुर्घटना घटाउने लक्ष्यसहित लाइट जडान गरिएको बताए। ट्राफिक व्यवस्थापन र पार्किङको समस्या एकल प्रयासले मात्र समाधान नहुने भएकाले टोल विकास संस्थाहरूको सहभागिता पनि रहेको उनको भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले भने लाइट जडानले मात्र दुर्घटना नघट्ने बताए। सवारी चालकको लापरबाही र हेलचेक्र्याइँले दुर्घटना बढ्ने भएकाले समुदायस्तरबाटै यसलाई सहजीकरण गर्नुपर्ने उनको जोड छ।
भरतपुर महानगर-१० का वडाध्यक्ष परमेश्वर खनालले ट्राफिक लाइटले दुर्घटनासँगै सवारीको गति नियन्त्रण गर्न पनि सहयोग पुग्ने बताए। सडक विभागको ट्राफिक महाशाखाले पुलचोक, सहिदचोक, लायन्सचोक, चौबिसकोठी, हाकिमचोक र मालपोतचोक गरी छ वटा चोकमा लाइट जडान गरेको हो।
