ब्रसेल्स । युरोपेली सङ्घले विद्यालयमा पढ्ने बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) बारे बुझाउने छुट्टै प्रमाणपत्र कार्यक्रम सुरु गर्ने भएको छ। बिहीबार सार्वजनिक गरिएको योजनाअनुसार १५ वर्ष उमेर समूहका विद्यार्थीलाई लक्षित गरेर सन् २०२७/२०२८ को शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ। पहिलो चरणमा प्रमाणपत्रको परीक्षण गरिनेछ।
युरोपेली आयोगकी उपाध्यक्ष रोक्साना मिन्जाटुले यो कार्यक्रमले साना विद्यार्थीलाई एआईले कसरी काम गर्छ भन्ने बुझ्न, त्यसले दिएको जवाफ जाँच्न, भ्रमपूर्ण सामग्री चिन्न र आवश्यक पर्दा प्रविधिबाट टाढा रहन सिकाउने बताइन्।
प्रविधि तीव्र गतिमा बदलिँदै जाँदा कक्षाकोठामा यसको प्रभाव बढेको छ। विश्वभरका शिक्षक र विद्यार्थी एआईलाई कसरी सही तरिकाले प्रयोग गर्ने भन्ने प्रश्नसँग जुधिरहेका बेला ब्रसेल्सले यो कदम चालेको हो।
युरोपेली सङ्घका २७ सदस्य राष्ट्रको शिक्षा नीतिमा ब्रसेल्सको प्रत्यक्ष नियन्त्रण छैन। तर बालबालिकालाई सुरक्षित रूपमा एआई प्रयोग गर्न सिकाउने प्रयासलाई उसले पहिलेदेखि नै साथ दिँदै आएको छ।
यसैबीच, ब्रसेल्सले किशोरकिशोरीको सामाजिक सञ्जाल प्रयोग सीमित गर्ने कानुन पनि अघि बढाइरहेको छ। मिन्जाटुले यी दुई कदम एकअर्कासँग नबाझिने बताइन्। एआईले व्यक्तिगत सिकाइ र ट्युसनमा वास्तविक सहयोग पुर्याउन सक्ने उनको भनाइ छ, तर त्यस्तो प्रयोग सामाजिक सञ्जालका लत लगाउने एल्गोरिदमसँग सम्बन्धित नभएको उनले स्पष्ट गरिन्।
