तनहुँको ऋषिङ गाउँपालिका–१ मा बन्दै गरेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। आयोजनाको भूमिगत विद्युतगृहसहितका मुख्य संरचना निर्माणको काम लगभग सकिने अवस्थामा छ।
आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ र उपकरण जडानको काम झन्डै ८० प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ। यो प्याकेजको निर्माण चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसनले गरिरहेको छ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार भूमिगत संरचनाका लागि चाहिने उत्खननको काम सकिसकेको छ र अधिकांश संरचनाको सिभिल निर्माण पनि पूरा भइसकेको छ। भूमिगत विद्युतगृह, टेलरेस सुरुङ, केबल सुरुङ, सर्ज साफ्ट, इन्टेक तथा ड्राफ्टट्युब सुरुङ र पेनस्टकको ब्याकफिल कङ्क्रिटिङलगायतका मुख्य संरचनामा उत्खनन र कङ्क्रिटिङको काम करिब सम्पन्न भएको छ। मुख्य सुरुङको कङ्क्रिट लाइनिङको काम भने अन्तिम चरणमा छ।
विद्युतगृहमा जेनेरेटर, टर्बाइन, ट्रान्सफर्मरलगायत विद्युत् उत्पादनका लागि चाहिने उपकरण जडान तथा परीक्षणको काम अघि बढेको छ। वातावरणीय बहावका लागि बन्ने विद्युतगृह र बाँध सञ्चालन भवनको निर्माण पनि जारी छ। सिभिल संरचना तयार हुँदै गर्दा उपकरण जडान र परीक्षणलाई सँगसँगै अघि बढाइएको आयोजनाले जनाएको छ। प्याकेज–२ का यी संरचना र उपकरणको काम सकिएपछि आयोजनाको विद्युत् उत्पादन प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार हुनेछ।
