नेपालीको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु भएको छ। पर्वको पहिलो दिन आज धनतेरस मनाइँदै छ, जसलाई धनसम्पत्ति र समृद्धिको प्रतीक मानिन्छ। यस दिन सुन, चाँदी, तामा र पित्तलका सामान किन्नु शुभ हुने धार्मिक विश्वास छ।
त्यसैले आज बजारमा सुनचाँदीका गरगहना, सिक्का र धातुका भाँडाकुँडा किन्नेको चहलपहल बढेको छ। मानिसहरू नयाँ सामान घर भित्र्याएर पूजा गर्ने परम्परा पालना गरिरहेका छन्। धनतेरसका अवसरमा नेपाल राष्ट्र बैंकले पनि सुनचाँदीका सिक्का बिक्री गरिरहेको छ। बबरमहलस्थित कार्यालयबाट बिहीबारदेखि सुरु भएको सिक्का बिक्री आज पनि जारी छ।
चन्द्रमासअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने तिहार यस वर्ष तिथिको घटबढका कारण छ दिनसम्म मनाइँदै छ। पण्डित नारायणप्रसाद दुलालका अनुसार आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी सुरु हुने भएकाले आज धनतेरस मनाइएको हो। त्रयोदशी आज बिहान ११ बजेर १० मिनेटमा सुरु भएर शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।
त्रयोदशीकै दिन पर्ने कागपूजा र धन्वन्तरी जयन्ती भने भोलि शनिबार परेको छ। आइतबार बिहान चतुर्दशी तिथिमा कुकुरपूजा र सोही दिन साँझ लक्ष्मीपूजा गरिनेछ। यस वर्ष कात्तिक २५ गते भाइटीका परेको छ।
मिथिला क्षेत्रमा धनतेरसका दिन साँझ दीपमालिका गर्ने चलन छ। त्यहाँ धातुका भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँलगायत सामग्री किन्ने परम्परा पनि रहेको छ। काग, कुकुर, गाई, गोरु र भाइपूजासहित विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसँगै तिहारले घरघरमा रौनक ल्याएको छ।
