अमेरिकाको मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले संसद्का दुवै सदनको नियन्त्रण गुमाएपछि रक्षामन्त्री पिट हेगसेथमाथि महाभियोग लगाउने तयारी अघि बढेको छ। इरानविरुद्धको युद्धलाई लिएर आफ्नै पार्टीभित्र समेत आलोचना खेपिरहेका हेगसेथलाई पदबाट हटाउन कंग्रेसमा दबाब बढेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
महाभियोगको पहल विपक्षी डेमोक्रेटिक पार्टीका सांसदसँगै रिपब्लिकन सांसदले पनि गरिरहेका छन्। रिपब्लिकन सांसद थोमस मासीले आगामी साता प्रतिनिधिसभामा हेगसेथविरुद्ध महाभियोग प्रस्ताव पुनः पेस गर्ने बताएका छन्। सिएनएनका अनुसार मासीले आगामी सोमबार वा मंगलबार प्रस्ताव अघि बढाउने तयारी गरेका छन्। उनले प्रस्ताव पारित हुन आवश्यक पर्ने केही रिपब्लिकन सांसदको समर्थन समेत जुट्न सक्ने विश्वास व्यक्त गरेका छन्।
यसअघि पनि मासीले हेगसेथविरुद्ध महाभियोग प्रस्ताव ल्याएका थिए। तर मध्यावधि निर्वाचनअघि प्रतिनिधिसभाको बैठक समयअगावै अन्त्य भएपछि त्यसमा मतदान हुन सकेको थिएन। गत सेप्टेम्बरमा उनले दर्ता गरेको प्रस्तावमा ८ वटा आरोप समेटिएका थिए। त्यसमा कंग्रेसको स्वीकृतिबिना इरानविरुद्ध युद्ध सञ्चालन गरेको, मानव अधिकार उल्लंघन गरेको र संविधानविपरीत काम गरेको लगायतका आरोप छन्।
महाभियोगको तयारीलाई बल पुग्नुमा निर्वाचन परिणाम र इरान युद्धप्रति रिपब्लिकन नेताहरूको असन्तुष्टि मुख्य कारण देखिएको छ। उपराष्ट्रपति जेडी भान्सले समेत इरान युद्धकै कारण पार्टीले निर्वाचन हारेको सार्वजनिक अभिव्यक्ति दिएका छन्।
यद्यपि ट्रम्पले भने तत्काल हेगसेथलाई हटाउने संकेत गरेका छैनन्। बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उनले हेगसेथले ‘शानदार काम’ गरिरहेको बताएका थिए। रोयटर्सका अनुसार ट्रम्पले हेगसेथलाई पदमा राख्ने इच्छा व्यक्त गरे पनि प्रशासनभित्र उनको भविष्यबारे छलफल भइरहेको छ।
आफूमाथि महाभियोगको तयारी भइरहेका बेला हेगसेथले भने पदबाट पछि नहट्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियो सन्देशमा उनले महाभियोगको प्रयासलाई ‘राजनीतिक प्रतिशोध’ भन्दै त्यसबाट आफू विचलित नहुने बताए। इरान युद्धको बचाउ गर्दै उनले त्यसलाई ‘साहसी र ऐतिहासिक प्रयास’ भनेका छन्।
