चितवन । हिंसा प्रभावित तथा संरक्षणको आवश्यकता भएका महिला र बालबालिकालाई आश्रय दिँदै आएको भरतपुरस्थित आदर्श गृह नेपालले स्थापना यता एक हजार एक सय ८१ जनाको पारिवारिक पुनर्मिलन गराएको छ।
संस्थाले २०६६ साल वैशाख १ गतेदेखि भरतपुरमा रहेर हिंसा प्रभावित, मानव बेचबिखन तथा ओसारपसारमा परेका र संरक्षणको आवश्यकता भएका महिला तथा बालबालिकालाई सुरक्षित आश्रय दिँदै आएको छ। मानवीय सेवा, संरक्षण, पुनःस्थापना र सामाजिक रूपान्तरणका क्षेत्रमा क्रियाशील यो संस्थाले आश्रित बालबालिकाको शिक्षा र रोजगारीमा पनि उल्लेखनीय काम गरेको छ।
संस्थाकी अध्यक्ष मीनाकुमारी खरेलका अनुसार गृहमा हुर्किएका दुई छात्राले स्नातकोत्तर, तीन जनाले स्नातक र १२ जनाले उच्च शिक्षा पूरा गरेका छन्। नौ जनाले प्राविधिक शिक्षा लिएका छन् भने ४६ जनाले प्राविधिक तथा सीपमूलक तालिम लिएर रोजगारी पाएका छन्। हाल गृहमा आश्रित १७ जनालाई भरतपुर महानगरपालिकाले छात्रवृत्ति दिएर अध्ययन गराइरहेको छ भने २४ जना निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत छन्।
संस्थाको पहलमा जिल्ला, पुनरावेदन तथा सर्वोच्च अदालत र मेलमिलाप केन्द्रमार्फत न्याय पाएका तथा न्यायिक प्रक्रियामा रहेका ३३४ जना छन्। संस्थासँग सम्बन्धित चारवटा मुद्दा विचाराधीन छन्। गृहले २० जनालाई बीउपुँजी उपलब्ध गराएर व्यवसाय सञ्चालनमा सहयोग गरेको छ।
भरतपुर महानगरपालिका–४ वैदिकनगरस्थित गृहमा हाल ३२ जनाले आश्रय लिइरहेका छन्। आश्रितहरूको दीर्घकालीन व्यवस्थापनका लागि गृहले भरतपुर महानगरपालिका–१५ विश्वप्रकाश टोलमा आफ्नै जग्गामा सुविधासम्पन्न आश्रम निर्माण गरिरहेको छ। संस्थापक अध्यक्ष खरेलले एक कठ्ठा जग्गा दान गरेकी छिन् भने दुई कठ्ठा १३ धुर जग्गा उपयोगका लागि उपलब्ध गराएकी छिन्। ४९ जना दाताले थप तीन कठ्ठा जग्गा खरिद गर्न सहयोग गरेका छन्।
उक्त जग्गामा सात करोड ५० लाख रुपैयाँको लागतमा चारतले सुविधासम्पन्न आश्रम निर्माण भइरहेको छ। आश्रममा ७० बालबालिका र ३० महिलालाई राख्न सकिनेछ। गृहमा हुर्किएर विवाह गरी गएका छोरीज्वाइँ तथा अन्य पाहुनाका लागि पाहुना कक्ष र प्रशासनिक भवनसमेत निर्माण गरिने संस्थाले जनाएको छ।
आश्रम निर्माणका लागि गृहले यही कात्तिक २८ गतेदेखि आगामी मङ्सिर ८ गतेसम्म महायज्ञ आयोजना गर्ने भएको छ। संस्थाका सचिव अर्जुन अधिकारीका अनुसार नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको विशेष उपस्थितिमा महायज्ञ आयोजना गर्न लागिएको हो।
