धनकुटा । धनकुटा नगरपालिका–१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा भएको सवारी दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार हिलेबाट धनकुटातर्फ गुडिरहेको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको मोटरसाइकलले उछिन्ने क्रममा ठक्कर दिएको थियो। त्यसपछि विपरीत दिशाबाट आइरहेको अर्को मोटरसाइकल पनि दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा धनकुटा नगरपालिका–१ निगालेकी करिब ५१ वर्षीया ठोमादेवी ठकुरीको घटनास्थलमै मृत्यु भएको हो। उनी को १० प ९६८ नम्बरको मोटरसाइकलमा सवार थिइन्। सोही मोटरसाइकलका चालक, धनकुटा नगरपालिका–३ निगाले निवासी करिब ५३ वर्षीय गुणराज ठकुरी गम्भीर घाइते भएका छन्। उनलाई उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
अर्को मोटरसाइकल को ३८ प ३०६८ का चालक, मोरङको विराटनगर महानगरपालिका–१ का २० वर्षीय रोशन तामाङ सामान्य घाइते भएका छन्। उनको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ।
ट्रकको नम्बर प्रदेश नं. १–०२–००२ ख ०४७४ रहेको र चालक सुनसरीको धरान उपमहानगरपालिका–२० निवासी ३८ वर्षीय चाङबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ। ट्रक तथा दुवै मोटरसाइकल प्रहरीको नियन्त्रणमा छन्।
मृतकको शव कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।
