काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने यात्रुले अब आफ्नो सामान कहाँ छ भन्ने कुरा आगमन कक्षभित्रै रहेको स्क्रिनबाट हेर्न पाउने भएका छन् । विमानस्थलले ब्यागेज ड्रप क्षेत्रको प्रत्यक्ष दृश्य (लाइभ फिड) ब्यागेज क्लेम क्षेत्रमा जडान गरेको हो ।
विदेशबाट आउने यात्रुले आफ्नो झोला विमानबाट झारिएपछि बेल्टसम्म आइपुग्ने क्रम स्क्रिनमा देख्न सक्नेछन् । यसले सामान कहिले आउँछ भन्ने अनुमान गर्न सहज हुने र लामो प्रतीक्षामा पर्ने अन्योल घट्ने अपेक्षा गरिएको छ ।
यसअघि यात्रुले विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न कति समय लाग्छ भन्ने प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन । सामानको अवस्थाबारे सूचना नहुँदा यात्रुले लामो समय अन्योलमा बस्नुपर्ने अवस्था थियो । नयाँ व्यवस्थाले ब्यागेज ड्रप क्षेत्रमा भइरहेको गतिविधि आगमन कक्षमै देख्न सकिने भएपछि यात्रुको प्रतीक्षा समयलाई थप सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ ।
पछिल्लो समय मन्त्री पौडेलले विमानस्थलको सेवा सुधार, प्रविधिको उपयोग र यात्रुको सुविधालाई प्राथमिकतामा दिने कुरामा गम्भीर रुपमा पहल गरेका छन् । यस पहलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अनुभवलाई थप प्रभावकारी र यात्रुमैत्री बनाउने अपेक्षा गरिएको छ ।
