काठमाडौं । सुक्खा मौसम सुरु भएसँगै काठमाडौं उपत्यकाको हावा दिनप्रतिदिन बिग्रिँदै गएको छ । बिहीबारजस्तै शुक्रबार बिहान पनि उपत्यकाका धेरै ठाउँको हावा अस्वस्थकर तहमा पुगेको छ । स्विट्जरल्यान्डमा रहेको वायु गुणस्तरसम्बन्धी तथ्यांक संकलन गर्ने संस्था आईक्यूएयरका अनुसार शुक्रबार बिहान उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) १११ मापन गरिएको छ । हिजो मध्यबानेश्वर क्षेत्रमा एक्यूआई १५३ सम्म पुगेको थियो भने आज बिहान सवा ९ बजेसम्म त्यहाँ १२७ एक्यूआई रेकर्ड भएको छ । आगामी आइतबारसम्म हावा अस्वस्थकर नै रहने पूर्वानुमान गरिएको छ ।
काठमाडौं महानगरपालिकाको एयर क्वालिटी मनिटरिङ ड्यासबोर्ड अनुसार स्वयम्भू, बालाजु, टेकु, डल्लु, थापाथली, क्षेत्रपाटी, जडिबुटी, असन, कमलादी, शान्तिनगर, चाबहिल, लैनचौर र हाँडीगाउँ क्षेत्रमा हावाको गुणस्तर अस्वस्थकर तहमा छ । त्यसैले महानगरपालिकाले हावा प्रदूषित पार्ने गतिविधि नगर्न सबैलाई अनुरोध गरेको छ । सुक्खा मौसममा वर्षा कम हुने र हावामा धुलो तथा प्रदूषित कण बढ्ने भएकाले उपत्यकाको हावा थप बिग्रिने गर्छ ।
एक्यूआईका आधारमा पीएम २.५ को मात्रा १०१ देखि १५० सम्म पुग्दा संवेदनशील समूहका लागि हावा अस्वस्थकर मानिन्छ । यस्तो अवस्थामा श्वासप्रश्वासका बिरामी, वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरू बढी जोखिममा पर्छन् । पीएम २.५ को मात्रा १५१ देखि २०० सम्म पुगेमा सबैका लागि अस्वस्थकर मानिन्छ । पीएम २.५ भनेको हावामा रहेका २.५ माइक्रोमिटरभन्दा साना ठोस कण हुन्, जसलाई सबैभन्दा खतरनाक प्रदूषकमध्ये एक मानिन्छ । यस्ता सूक्ष्म कण फोक्सो हुँदै रगतमा मिसिन सक्छन् र क्यान्सरजस्ता गम्भीर रोगको जोखिम बढाउने चिकित्सकहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पीएम २.५ को वार्षिक औसत मात्रा प्रतिघनमिटर हावामा ५ माइक्रोग्रामभन्दा बढी हुनुहुँदैन भने २४ घण्टाको औसत १५ माइक्रोग्रामभन्दा बढी हुन नहुने उल्लेख छ ।
यता छिमेकी भारतको राजधानी नयाँदिल्लीमा हावाको अवस्था झन् गम्भीर बनेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार शुक्रबार बिहान ८ बजे दिल्लीमा एक्यूआई ४२२ मापन गरिएको थियो । जवाहरलाल नेहरू स्टेडियमनजिक ४२१, नजफगढमा ४१४ र चाँदनी चोक क्षेत्रमा ३९१ एक्यूआई रेकर्ड भएको छ । एक्यूआई ४०१ देखि ५०० सम्म पुग्दा त्यसलाई ‘सिभियर’ अर्थात् गम्भीर अवस्था मानिन्छ, जसले स्वस्थ मानिसको स्वास्थ्यमा समेत असर पार्नुका साथै बिरामीहरूमा गम्भीर समस्या निम्त्याउन सक्छ ।
