चितवन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका कार्यकर्तालाई अवसरको पछाडि नलागी निष्ठाको राजनीति गर्न आह्वान गरेका छन्। शुक्रबार चितवनमा आयोजित कार्यक्रममा उनले कांग्रेस र कम्युनिस्ट दलका नेताहरूको संघर्षको उदाहरण दिँदै धैर्य र त्यागको राजनीतिमा जोड दिए।
लामिछानेले पार्टीभित्र वडा सदस्य वा वडाध्यक्ष बन्ने आकांक्षा कम देखिएको र धेरैले सोझै मेयर तथा प्रदेश सांसद बन्न चाहेको बताए। वडाको जिम्मेवारी कसले हेर्ने भन्ने प्रश्न उठाउँदै उनले यस्तो प्रवृत्तिले अवसरवादी राजनीति देखाउने टिप्पणी गरे।
उनले कांग्रेस २०१५ सालमा सरकारमा गएपछि २०४६/०४७ सालसम्म तीन दशक सरकारबाहिर रहँदा पनि नेताहरूले निरन्तर संघर्ष गरिरहेको स्मरण गरे। कम्युनिस्ट नेताहरू निर्वासनमा रहँदा पनि लोकतन्त्र आउने निश्चित नभएको उनले बताए। टिकट नपाएकै भरमा चार वर्षमै विचलित हुने राजनीतिले देशमा प्रजातन्त्र सम्भव हुने थिएन भन्ने उनको प्रश्न थियो।
सभापति लामिछानेले निष्ठामा अडिन नसक्ने व्यक्ति राजनीतिमा लाग्न नहुने बताए। आफ्नो पार्टीसँग अहिले १८२ सिट रहेको उल्लेख गर्दै उनले भोलि दुई सिट मात्रै भए पनि वा शून्य सिट भए पनि राजनीति जित्नुपर्ने बताए। चुनाव जित्नु ठूलो कुरा नभएको उनको भनाइ थियो।
