काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लगातार हार बेहोरिरहेको पोखरा एभेन्जर्सले बीच सिजनमै कप्तान परिवर्तन गरेको छ । टोलीले नियमित कप्तान कुशल भुर्तेलको स्थानमा श्रीलंकाली अलराउन्डर चमिका करुणारत्नेलाई नयाँ कप्तानको जिम्मेवारी सुम्पिएको छ ।
पोखराले प्रतियोगितामा अहिलेसम्म खेलेका तीनै खेलमा हार बेहोरेको छ । सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र लुम्बिनी लायन्ससँग पराजित भएपछि जितविहीन रहेको पोखरा अंकतालिकाको पुछारमा छ । खराब सुरुआतपछि टोलीले नेतृत्व परिवर्तन गरेर प्रदर्शन सुधार्ने अपेक्षा गरेको छ ।
कप्तानीबाट हटाइए पनि कुशल भुर्तेल टोलीमै खेलाडीका रूपमा रहनेछन् । अब करुणारत्नेको नेतृत्वमा पोखराले आगामी खेल खेल्नेछ ।
यसैबीच, चितवन राइनोजले भने कप्तानीमा कुनै फेरबदल नगर्ने निर्णय गरेको छ । चोटका कारण मैदानबाहिर रहेका कुशल मल्ल टोलीमा फर्किए पनि कप्तानीको जिम्मेवारी सिकन्दर राजाले नै सम्हाल्ने भएका छन् । राजा यसअघि पनि टोलीको कप्तानीमा देखिएका थिए ।
मल्लको पुनरागमनसँगै चितवनको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ ।
