भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढी र पहिरोबाट प्रभावित भएका परिवारलाई सहयोग गर्न नेपाली कांग्रेसले न्यानो कपडा वितरण र मानसिक स्वास्थ्य परामर्शको अभियान चलाउने भएको छ। रसुवा, धादिङ र नुवाकोटका प्रभावित बस्तीमा केन्द्रित हुने यो अभियान पार्टीको बुधबार बसेको बैठकले तय गरेको हो।
ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकमा सभापति गगन थापासहित पदाधिकारी, संसदीय दलका नेता, प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति र स्थानीय जनप्रतिनिधि सहभागी थिए। बैठकमा गत भदौ १० गते आएको आकस्मिक बाढी र पहिरोपछि प्रभावितहरूको पछिल्लो अवस्था, पुनर्निर्माणको प्रगति र राहत वितरणको अवस्थाबारे विस्तृत छलफल भएको थियो।
सह-महामन्त्री प्रकाश रसाइली (स्नेही)ले जारी गरेको विज्ञप्तिमा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका समस्याप्रति पार्टी गम्भीर र संवेदनशील रहेको उल्लेख छ। कांग्रेसले पुनर्निर्माण र पुनर्स्थापनाको काम प्रभावकारी बनाउन सरकारलाई निरन्तर खबरदारी गर्ने र पार्टीका तर्फबाट पनि आवश्यक सहकार्य तथा सहयोग अघि बढाउने जनाएको छ।
बैठकले छठ पर्व सकिएलगत्तै तीनै जिल्लाका प्रभावित गाउँ र बस्तीमा पुगेर अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय पनि गरेको छ।
