बैंकको मुद्दती निक्षेपमा ब्याजदर निकै तल झरेका बेला जीवन बीमाबाट पाइने प्रतिफल त्यसभन्दा बढी देखिएको छ। नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले बीमामा बचत गर्दा सुरक्षा र प्रतिफल दुवै पाइने भएकाले पछिल्लो समय यसतर्फ आकर्षण बढेको बताएका छन्।
नेपाल लाइफले इक्रा नेपालबाट डबल ए रेटिङ पाएको छ। गत वर्ष कम्पनी डबल ए माइनस स्तरमा थियो। घट्दो लाभांश दर, लगानीका सीमित साधन र बैंकको घट्दो ब्याजदरका बीच पनि वित्तीय स्थिति, सोल्भेन्सी अनुपात र व्यवस्थापकीय क्षमताका आधारमा रेटिङ उक्लिएको पराजुलीको भनाइ छ।
पहिलो त्रैमासको विवरणअनुसार नेपाल लाइफको लगानी झन्डै दुई खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ। कम्पनीको बजार हिस्सा करिब २६ प्रतिशत छ। समग्र जीवन बीमा क्षेत्रबाट करिब १२ खर्ब रुपैयाँ लगानी भएको अनुमान छ। विगतमा करिब ९० प्रतिशत लगानी बैंकको मुद्दती निक्षेप, बोन्ड र डिबेन्चरमा केन्द्रित हुने गरेको थियो।
पराजुलीका अनुसार नेपाल लाइफको न्यूनतम बोनस दर प्रतिहजार ५६ रुपैयाँ अर्थात् ५.६ प्रतिशत छ भने उच्चतम ८५ रुपैयाँसम्म पुग्छ। अहिले अत्यधिक तरलता भएका बेला बैंकले साढे दुई प्रतिशत ब्याजमा समेत मुद्दती रकम लिन नचाहेको अवस्था छ। संस्थाको प्रतिफलको ९० प्रतिशत बीमित र १० प्रतिशत सेयरधनीलाई जाने व्यवस्था छ।
गत असारमा आएको भोटेकोशी बाढीका दाबी विस्तारै आइरहेको र जोखिम पुनर्बीमामार्फत बाँडिएकाले कम्पनीमा सामान्य असर मात्र पर्ने उनले बताए। बेपत्ता व्यक्तिलाई स्थानीय तहको सिफारिसमा मृत घोषणा गर्न सकिने सहजीकरण गरिएको छ। गत वर्ष परेका दाबीमध्ये ९८ प्रतिशत भुक्तानी भएको कम्पनीले जनाएको छ।
