राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले पार्टीभित्रका अधिवेशन, आन्तरिक निर्वाचन र आगामी सार्वजनिक निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई मर्यादित र अनुशासित बनाउन सातबुँदे निर्देशन जारी गरेको छ। आयोगका प्रमुख भुवन केसीले जारी गरेको विज्ञप्तिमा पार्टीका सदस्य, पदाधिकारी, नेतृत्वका आकाङ्क्षी र उम्मेदवार क्लबमा आबद्ध सबैलाई निर्वाचनसम्बन्धी आचारसंहिता र विधिको पूर्ण पालना गर्न भनिएको छ।
निर्देशनअनुसार पार्टीको विधान, कार्यविधि र आधिकारिक निर्देशन विपरीत कुनै पनि तहमा अनधिकृत वा समानान्तर गतिविधि सञ्चालन गर्न पाइनेछैन। व्यक्तिगत पहुँच, आर्थिक प्रभाव, नातावाद, गुटगत दबाब वा धम्कीजस्ता अनुचित प्रभाव प्रयोग गरेर निर्वाचन प्रभावित पार्न नपाइने र सबै योग्य सदस्यलाई समान अवसर दिनुपर्ने उल्लेख छ।
उम्मेदवार क्लबमा आबद्ध हुनु वा आवेदन दिनु नै उम्मेदवारीको अन्तिम सुनिश्चितता नभएको आयोगले स्पष्ट पारेको छ। नेतृत्व विकास कार्यक्रम, योग्यता परीक्षण, मूल्याङ्कन र प्राथमिक निर्वाचन (प्राइमरी) जस्ता प्रक्रिया पूरा भएपछि मात्र पार्टीले अन्तिम निर्णय गर्नेछ। सामाजिक सञ्जाल वा अन्य माध्यमबाट आफूखुसी उम्मेदवारी घोषणा गर्ने वा प्रचार गर्ने कार्य विधि विपरीत हुने र अधिवेशनको आधिकारिक मिति र कार्यतालिका सार्वजनिक नभएसम्म नेतृत्वका लागि पनि उम्मेदवारी घोषणा गर्न नपाइने निर्देशनमा भनिएको छ।
आचारसंहिताको दायराभित्र आर्थिक लेनदेन, उपहार, भोजभतेर, भ्रामक प्रचार, चरित्रहत्या तथा पद र शक्तिको दुरुपयोग पूर्णतः निषेध गरिएको छ। पार्टीका आन्तरिक दस्ताबेज, निर्णय, पत्राचार र व्यक्तिगत विवरणको गोपनीयता कायम राख्न र आधिकारिक स्वीकृतिबिना त्यस्ता सूचना सार्वजनिक वा दुरुपयोग नगर्न पनि सचेत गराइएको छ।
निर्देशन तथा आचारसंहिता उल्लङ्घन गर्ने जो–कसैलाई गम्भीरताका आधारमा उम्मेदवारी खारेजी, प्रक्रियाबाट निष्कासन, जिम्मेवारीबाट हटाउनेदेखि विधानबमोजिम निलम्बन तथा पार्टी सदस्यता नै समाप्त गर्नेसम्मको कारबाही हुने आयोगले चेतावनी दिएको छ। पद, पहुँच वा प्रभावका आधारमा कसैलाई पनि विधिभन्दा माथि रहने छुट नहुने आयोगको ठहर छ।
