सुर्खेत । जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुवै आँखा गुमाएका सन्तोष बोहोराको घरमा महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता बादी पुगेकी छन्। शुक्रबार वीरेन्द्रनगर पुगेकी मन्त्री बादीले वीरेन्द्रनगर नगरपालिका–२ भूरेलीस्थित बोहोराको निवासमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन्।
आन्दोलनका क्रममा वीरेन्द्रनगरमा भएको झडपमा प्रहरीले हानेको गोली लागेर बोहोरा गम्भीर घाइते भएका थिए। उपचारपछि ज्यान त जोगियो, तर उनले दुवै आँखाको ज्योति गुमाए। त्यसयता परिवारको जीविकोपार्जनमा कठिनाइ बढेको छ।
भेटका क्रममा मन्त्री बादीले बोहोराकी छोरीको पढाइ निरन्तर राख्न सहयोग गर्ने प्रतिबद्धता जनाइन्। श्रीमतीका लागि रोजगारीको अवसर जुटाउन पहल गर्ने र परिवारलाई आवश्यक अन्य सेवा सुविधा उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गर्ने उनले बताइन्।
घाइतेको अवस्था र परिवारको आवश्यकताबारे प्रत्यक्ष जानकारी लिन आफू घरमै आएको मन्त्री बादीको भनाइ थियो। सरकारले आन्दोलनका घाइते र उनीहरूका परिवारलाई सहयोग गर्ने कामलाई निरन्तरता दिने उनले बताइन्।
