संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप-३१ मा युवा, महिला, आदिवासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषयमा सरकार सचेत रहेको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बताएकी छन्। कोप-३१ को तयारी र नेपालको सहभागिताका विषयमा नागरिक समाजका प्रतिनिधिहरूसँग भएको छलफलमा मन्त्री चौधरीले सबै वर्ग, समुदाय र समूहको आवाज अन्तरराष्ट्रिय मञ्चमा समेटिनुपर्नेमा जोड दिइन्।
छलफलमा सहभागी नागरिक समाजका प्रतिनिधिहरूले कोप-३१ मा युवा, जेनजी पुस्ता, महिला, आदिवासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिलाई समान रूपमा सहभागी गराउनुपर्ने सुझाव दिएका थिए। जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा भोगिरहेका समुदायका सवाल र आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन सबै समुदायको अर्थपूर्ण प्रतिनिधित्व आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।
प्रतिनिधिहरूको सुझावलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनका मुद्दामा सबैको सहभागिता र प्रतिनिधित्व महत्त्वपूर्ण रहेको उल्लेख गरिन्। कोप-३१ मा नेपालको सहभागितालाई समावेशी बनाउँदै प्रभावित समुदायका सवाललाई प्राथमिकताका साथ उठाउने विषयमा आफू गम्भीर रहेको उनले बताइन्।
छलफलमा कोप-३१ मा नेपालको प्राथमिकता, जलवायु न्याय, जलवायु वित्त, हिमाल संरक्षण तथा जलवायु परिवर्तनबाट प्रभावित समुदायका मुद्दालाई अन्तरराष्ट्रिय तहमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा समेत छलफल भएको थियो।
