बागमती प्रदेशका हिउँदे बाली लगाउने किसान तथा बाढीबाट प्रभावित क्षेत्रका कृषकलाई १ हजार ५०० मेट्रिक टन रासायनिक मल उपलब्ध गराइने भएको छ । रासायनिक मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले यो निर्णय गरेको हो ।
निर्णयअनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वीरगञ्जस्थित प्रादेशिक कार्यालयमा बफर स्टकका रूपमा रहेको मलमध्ये ५०० मेट्रिक टन डीएपी र १ हजार मेट्रिक टन युरिया बागमती प्रदेशमा परिचालन गरिनेछ । हिउँदे बालीका लागि छुट्याइएको मल बागमती प्रदेश सरकारसँगको समन्वयमा वितरण गरिनेछ ।
त्यसैगरी, २०८३ साल भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाका किसानलाई पनि उही परिमाणको मल उपलब्ध गराउने निर्णय भएको छ । बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लामा ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको थियो, जसबाट कृषि क्षेत्रसमेत प्रभावित भएको थियो ।
अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ को दफा २० को खण्ड (ज) बमोजिम मल वितरक कम्पनीहरूलाई आवश्यक निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले निर्णय कार्यान्वयनका लागि सम्बन्धित कम्पनीहरूसँग समन्वय गरी किसानसम्म मल पुर्याउन अनुरोध गरेको छ ।
