काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
कागेश्वरीमा गई पूजा आजा एवं दर्शन गरेमा कागबाट सहयोग प्राप्त हुने धार्मिक विश्वास छ । यहाँ प्रत्येक वर्ष कागे अष्टमी र काग तिहारका अवसरमा भक्तजनको भीड हुने गर्छ । कागेश्वरी मन्दिरमा २२७ किलोको पित्तललगायत अष्ट धातुबाट बनेको कागको मूर्ति छ, जसले धार्मिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो ।
कागेश्वरी मन्दिरमाथिको सहिद उद्यानमा एक हजार किलो अष्ट धातुबाट कागको मूर्ति बनाइएको छ । यो विश्वकै ठूलो कागको मूर्ति भएको जनाइएको छ । नेपालको ठूलो कागको मूर्तिमा पूजा गर्न भक्तजनको भीड लागेको हो ।
काग तिहारका अवसरमा वसन्तपुरस्थित कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि कागको पूजा गर्ने भक्तजनको भीड लागेको छ । त्यस्तै पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पनि पूजा, आराधना गर्ने भक्तजनको लाम लागेको छ । यी मन्दिरका साथै आज घरघरमा पनि कागलाई मीठा मीठा खानेकुरा खान दिई सम्मान गरिन्छ ।
