काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी आइतबार दिउँसो नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेका छन् । लक्ष्मीपूजाको बिदाका दिन पनि उनी दिउँसो १ बजेर ४० मिनेटदेखि ब्युरोभित्रै रहेका छन् ।
शिवाकोटीले आफूसँगै कानुन व्यवसायीलाई लैजान चाहेका थिए । तर प्रहरीले कानुन व्यवसायीलाई भित्र प्रवेश गर्न दिएन । आफू दुई घण्टादेखि ब्युरोभित्र रहेको र सोधपुछको काम भइरहेको उनले बताएका छन् ।
साइबर ब्युरोले पत्रकार रोशन खड्काको उजुरीका आधारमा नेता शिवाकोटीलाई सोधपुछका लागि बोलाएको हो । ब्युरो स्रोतका अनुसार दुवैसँग छुट्टाछुट्टै सोधपुछ भइरहेको छ र सहमतिको प्रयास पनि भइरहेको छ ।
प्रतिपक्ष दलको नेताका हैसियतमा शिवाकोटीले सरकारले गरेका कामबारे प्रश्न उठाउँदै आएका छन् । सोही क्रममा पत्रकार खड्का पनि जोडिएपछि उनले साइबर ब्युरोमा उजुरी दिएका हुन् । शिवाकोटीले सामाजिक सञ्जालमा खड्काका कुरा किन पत्याउनुपर्ने भन्दै प्रतिपक्षले जिम्मेवार ढंगले उठाएका प्रश्नको सरकारले जिम्मेवार ढंगले जवाफ दिनुपर्ने लेखेका थिए ।
उनले केही दिनदेखि सरकारले विधि विधान मिचेर काम गरिरहेको र कांग्रेसलाई अनावश्यक विवादमा फसाउन खोजेको भन्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिइरहेका छन् । उनले बिचौली भनिएका इनम सापकोटा र प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनका बारेमा समेत स्पष्ट पारेका छन् ।
यसअघि गत साता नै साइबर ब्युरोले उनलाई खोजेको थियो । उनी धार्मिक यात्रामा भारतमा रहेका बेला सम्पर्क नभएपछि साथीहरूमार्फत उनले ब्युरोले खोजेको खबर पाएका थिए । त्यसलगत्तै उनले कार्यक्रम छोट्याएर गत बिहीबार नै काठमाडौं फर्केका थिए । जानकारी सर्वत्र भए पनि प्रहरीले कुनै सम्पर्क नगरेको र चाडबाडका बेला लक्ष्मी पूजा गर्ने समयमा ब्युरोले कार्यालयमा बोलाएको हो ।
