दक्षिण चीनको टापु प्रान्त हाइनानको उष्णकटिबन्धीय वर्षावनमा भ्यागुताको नयाँ प्रजाति फेला परेको छ। अनुसन्धानकर्ताहरूका अनुसार यो खोजले उक्त क्षेत्रको जैविक विविधता र पारिस्थितिक अवस्थामा सुधार भइरहेको देखाएको छ।
हाइनान नर्मल युनिभर्सिटी तथा अन्य विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले हाइनान उष्णकटिबन्धीय वर्षावन राष्ट्रिय निकुञ्जमा यो प्रजाति पहिचान गरेको हो। नयाँ प्रजातिलाई ‘हाइनान ग्रुभ-टोड फ्रग’ नाम दिइएको छ भने यससम्बन्धी अनुसन्धान प्रतिवेदन जनावरहरूको वर्गीकरणसम्बन्धी अन्तरराष्ट्रिय जर्नल ‘जुकिज’ मा प्रकाशित भएको छ।
अनुसन्धान टोलीले सन् २०२४ देखि २०२६ सम्म निकुञ्जमा गरेको स्थलगत सर्वेक्षणका क्रममा यो प्रजाति पहिचान गरेको थियो। शारीरिक बनावट, आणविक तथा आनुवंशिक विश्लेषण र अन्य ज्ञात प्रजातिसँगको तुलनाका आधारमा यो नयाँ प्रजाति भएको पुष्टि गरिएको हो।
अनुसन्धानअनुसार यो भ्यागुता समुद्री सतहबाट ३५० देखि ९५० मिटर उचाइसम्मका उष्णकटिबन्धीय वर्षावनमा पाइन्छ र सदाबहार चौडा पात भएका रूखहरू यसको मुख्य बासस्थान हुन्।
हाइनान नर्मल युनिभर्सिटीको स्कुल अफ लाइफ साइन्सेसका डिन वाङ जिचाओले यो खोज राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भइरहेको जैविक विविधता सर्वेक्षणको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ। उहाँका अनुसार यसले हाइनान टापुमा उभयचर जीवको विविधता थप विस्तार गरेको छ।
सन् २०२१ मा स्थापना भएको हाइनान उष्णकटिबन्धीय वर्षावन राष्ट्रिय निकुञ्ज चीनको महत्वपूर्ण जैविक विविधता संरक्षण क्षेत्र हो। निकुञ्ज प्रशासनका अनुसार पछिल्ला पाँच वर्षमा यहाँ वनस्पति र वन्यजन्तुका ९० भन्दा बढी नयाँ प्रजाति फेला परेका छन्। निकुञ्जले हाइनानको ९५ प्रतिशतभन्दा बढी प्राथमिक वन र ५५ प्रतिशतभन्दा बढी प्राकृतिक वनको प्रभावकारी संरक्षण गरेको जनाएको छ।
