यमपञ्चकको अवसरमा लक्ष्मीपूजाको दिन आइतबार राजधानी काठमाडौंमा फूलको किनबेच उल्लेख्य रूपमा बढेको छ। घर तथा पसल सजाउन सयपत्री फूलको माग ह्वात्तै बढेपछि उपत्यकाका विभिन्न ठाउँमा फूलका पसल र अस्थायी बजार भरिभराउ देखिएका छन्।
लक्ष्मीपूजामा घर सजावटका लागि सयपत्री सबैभन्दा बढी प्रयोग हुने भएकाले यसको व्यापार विशेष रूपमा फस्टाएको हो। काठमाडौं महानगरपालिकाले तोकेका स्थानमा मात्र फूलको खरिदबिक्री गर्ने व्यवस्था मिलाएको छ, जसले बजारलाई व्यवस्थित बनाएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार यस वर्षको तिहारमा करिब ६४ करोड ५० लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान छ। सयपत्रीसँगै भाइटीकामा प्रयोग हुने मखमली फूलको व्यापार पनि बढ्दो छ।
एसोसिएसनका अनुसार हाल देशभर ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्पखेती भइरहेको छ भने पुष्प व्यवसायमा ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी भएको अनुमान छ। तिहारको चहलपहलसँगै किसान र व्यापारी दुवैलाई यस वर्षको फूल व्यापारले उत्साह थपेको देखिन्छ।
