काठमाडौं — सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले अदालतभित्र भ्रष्टाचार र बिचौलियाको प्रभाव बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको बताएका छन्। शनिबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो धारणा राख्दै उनले न्यायालयमा यस्ता विकृति देखिनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।
सर्वोच्च अदालतसम्म पुग्दा यस्ता समस्या झन् ठूलो रूपमा देखिने गरेको उनको भनाइ थियो। जनताले वास्तविक रूपमा न्याय पाएको महसुस गर्न अदालत र न्यायाधीशको भूमिका निष्पक्ष हुनैपर्ने उनले बताए। न्यायाधीशको आचरण, फैसला र आदेश स्पष्ट हुनुपर्ने र सर्वसाधारणले सजिलै बुझ्ने खालका हुनुपर्ने उनको जोड थियो। न्याय सम्पादनमा कुनै पनि प्रकारको सम्झौता हुन नहुने उनले बताए।
न्याय क्षेत्रका हरेक तहमा रहेका कमजोरी पहिचान गरेर सुधार गर्नुपर्ने डाँगीको भनाइ थियो। आगामी दिनमा सर्वोच्च अदालतको भूमिका थप प्रभावकारी हुनुपर्ने उनले बताए। सुनुवाइका क्रममा उनले न्यायालय सुधारका लागि आफ्ना कार्ययोजना पनि प्रस्तुत गरे। न्यायाधीशले आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्ने, न्यायाधीशको कामकारबाहीमाथि प्रभावकारी निगरानी हुनुपर्ने र न्यायिक प्रणालीमा देखिएका विकृति अन्त्य गर्नुपर्ने उनका प्रस्ताव छन्।
न्यायालयप्रति जनविश्वास कायम राख्न न्याय सम्पादन पारदर्शी, निष्पक्ष र जवाफदेही हुनुपर्नेमा उनले जोड दिए।
